d

निर्मला र नन्कुन्नी मृत्यु प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयले छानबिनका लागि बनाएको समितिले प्रतिवेदन बुझाएको छ । समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा जग्गा हडप्ने नियतले घटना भएको उल्लेख छ । गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा सो घटनाको छानबिन गर्न समिति बनाएको थियो ।

प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाणले छानबिनबाट प्राप्त निष्कर्षको कार्यान्वयनमा सरकारले ध्यान दिने बताए । उनले सो प्रतिवेदनको निष्कर्ष कार्यान्वयन गराउन सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता पनि जनाए । ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ, प्रतिवेदनबाट प्राप्त निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौं,’ खाँणले प्रतिवेदन बुझ्दै भने ।

प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ । सो जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी १९ भदौको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको प्रतिवेदनमा भनिएको छ ।

समितिले हाल नेपालगन्ज उपमहानगरपालिका–१७ र साबिक परस्पुर गाउँ विकास समिति–९ निवासी निर्मला कुर्मीको मृत्यु चार बिघा १० कठ्ठा जग्गा हडप्ने नियतले भएको उल्लेख गरेको छ ।

श्रीमान महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि निर्मला दुई छोराहरूसँग बस्दै आएकी थिइन् । दुई छोराको २०६६ मंसिरमा १० दिनको फरकमा स्वास्थ्यमा अचानक समस्या आएर उपचारका क्रममा मृत्यु भएपछि निर्मलाका श्रीमान महलु र जेठा छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपुर्जा र नागरिकता बादशाह कुर्मीले जिम्मा लिएपछि घरजग्गा खानका लागि लालपुर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरकाले चर्को विरोध र धर्ना गरेको प्रतिवेदनमा भनिएको छ ।

सो घटनापछि बादशाहले विधिवत् रूपमा जग्गाको लालपुर्जा जिल्ला प्रशासन कार्यालयमा बुझाएको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाइ अदालतमा मुद्दा हाली नेपालगन्ज धम्बोजी बस्ने पार्वती विष्टका नाममा ६ भदौ २०६९ मा जग्गा नामसारी गराएको र त्यसपछि विष्टको नामबाट रत्ना थापाको नाममा सारिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सो घटनामा समितिले बादशाहसहित आठ जना प्रारम्भिक चरणमा दोषी देखिए पनि बादशाहबाहेक अरू फरार रहेको प्रतिवेदनमा उल्लेख छ । समितिले निर्मला कुर्मीको मुद्दामा सम्पत्ति खाने, हडप्ने नियतले कीर्ते जालझेल आदि भएको एवं बाँके जिल्लामा जग्गा किनबेच, हक, भोग, नामसारीलगायतमा छानबिन गर्न सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गर्न सिफारिस गरेको छ ।

छानबिन समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए ।

 

राजधानी दैनिकबाट 

Views: