d

आयल निगमको मासिक घाटा ६ अर्बभन्दा बढी, घाटामा किन?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ । गत शुक्रबार मात्रै आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
शुक्रबार मूल्य वृद्धि गर्दा पनि पन्ध्र दिनमा एक अर्ब ८७ करोड घाटा रहेको जनाएको निमगलाई स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य थप बढेको आयल निगमले जनाएको छ ।
सोमबार प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमको १५ दिनको घाटा तीन अर्ब २ करोड पुग्ने जनाइएको छ । ‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप आज १ नोभेम्बर २०२१ मा निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पछिल्लो मूल्यको तुलनामा औषत प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ४२ पैसा, डिजेलमा ३ रुपैयाँ ९२ पैसा, मट्टीतेलमा ११ रुपैयाँ ४९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ११ पैसा र एलपी ग्यासमा प्रति सिलिन्ड २४६ रुपैयाँ ९७ पैसाले बढेर आएको छ । यसअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ ४ पैसा, डिजेलमा १५ रुपैयाँ ६२ पैसा, हवाई इन्धन (आन्तरिकतर्फ) मा १ पैसा तथा एलपी ग्याँसमा प्रति सिलिन्ड ७२१ रुपैयाँ ६९ पैसा घाटा छ भने मट्टीतेलमा १३ रुपैयाँ ५ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर १४ रुपैयाँ ६२ पैसा नाफा भई समग्रमा निगमलाई १५ दिनमा करिब तीन अर्ब दुई करोड घाटा हुँदा मासिक घाटा ६ अर्ब ४ करोड घाटा हुने देखिन्छ,’ नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मूल्य समायोजनको अंशको तुलनामा खरिद लागत छोटो अवधिमा नै अत्याधिक वृद्धि हुँदा निगमको घाटा बढेको जनाइएको छ । ‘पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ३८ पैसाले सस्तो, डिजेल प्रति लिटर ५६ रुपैयाँ ७६ पैसाले सस्तो र एलपी ग्याँस पनि प्रति सिलिन्डर १२५ रुपैयाँ ६५ पैसाले नेपालतर्फ नै सस्तो रहेको छ,’ आयल निगमाको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको सीमा क्षेत्र को भारतीय बजारमा नेपालको तुलनामा पेट्रलियम पदाथको मूल्य धेरै उच्च हुँदा नेपालबाट भारत पेट्रोलियम पदार्थ तस्करी भइरहेको छ । निगमले सोही कुरा इङ्गित गर्ने खोजेको देखिन्छ । निगमलाई मासिक रूपमा नै ६ अर्बभन्दा माथि घाटा हुने अवस्था आएको र पछिल्लो समय निमगलाई लगातार रूपमा घाटा हुँदै गर्दा निगमसँग रहेको सञ्चित रकम सकिएर पुनः ऋण लिने अवस्थामा पुगेको आयल निगमका अधिकारीहरू बताउँछन् । अब पुनः मूल्य समायोजन नगर्ने हो भने निगमलाई पेट्रोलियम पदार्थ आयात गर्न नै समस्या हुने उनीहरूको भनाइ छ ।

Views: