d

भारतलाई विद्युत विक्री गर्ने बाटो खुल्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । नेपालले भारतलाई विद्युत विक्री गर्न सक्ने भएको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमति पाएपछि विक्री गर्न सक्ने भएको हो । विदेशमा विद्युत निर्यात गरेर नेपालले पहिलोपटक विदेशी मुद्रा आर्जन गर्ने भएकोले ऐतिहासिक दिन पनि हुने भएको छ ।
यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले नेपालबाट विद्युत लिएवापत्को विद्युत दिने गर्दथ्यो । अब भारतलाई विद्युत विक्री गर्न नेपालले प्रतिष्पर्धा गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको ऊर्जा बजारमा विद्युत विक्रीका लागि अनुमति प्राप्त भएको जानकारी दिएको छ ।
पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभी अन्दरदेशीय प्रसारणलाइनमार्फत् ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा विक्री गर्नेछ । यसअघि यो लाइनबाट विद्युत आयात मात्र भइरहेको थियो ।
नेपालमा विद्युत खेर गइरहेको र भारतमा ऊर्जा संकट परिरहँदा निर्यात अनुमती पाएको हो । नेपालले विद्युत निर्यातबाट ठूलो आर्थिक फड्को मार्ने सम्भावना बढेको छ । नेपालको विद्युत उत्पादनको भारत सहज बजार पनि हो ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री हुनेछ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात् सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुंगा हो,’ उनले भनिन् । द नेपाल टप।  

Views: