d

एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई  निमन्त्रणा नगरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 एमालेले दशौँ महाधिवेशनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई निमन्त्रण नदिने भएको छ । आफैँबाट फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने नबोलाइने एमालेले बताएको छ ।आगामी १० देखि १२ मंसिरसम्म चितवनमा सम्पन्न हुने महाधिवेशनको तयारीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेको एमालेले नेपाल नेतृत्वको पार्टीलाई अवैध गर्भधारणबाट बनेको राजनीतिक दलको संज्ञा दिएको छ । 

अवैध शक्तिलाई आफ्नो पार्टीले पत्राचार नगर्ने सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘प्रमुख दलहरूलाई आमन्त्रण गर्छौँ, प्रमुख दलहरूको पहिचान, ठेगाना स्पष्ट छ, कतिपय राजनीतिक दलहरूको पहिचान र ठेगाना स्पष्ट छैन, पत्राचार गर्ने ठाउँ पनि स्पष्ट छैन, पत्राचार गर्नुपर्ने पहिचान पनि स्पष्ट भएको छैन,’ नेपाल नेतृत्वको दललाई निमन्त्रणा गरिएको वा नगरिएको जिज्ञासामा सचिव भट्टराईले जवाफ दिए, ‘कुनै अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टी छन्, त्यस्ता पार्टीहरूलाई बोलाइरहनुपर्छ जस्तो मलाई लाग्दैन ।’ 

एमालेले प्रमुख दलसहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी, विश्वभरका कम्युनिस्ट पार्टीका प्रतिनिधि, एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय संस्था आइक्यापमा आबद्ध राजनीतिक दलहरूलाई दशौँ महाधिवेशनको निम्तो दिएको छ । एमालेले चितवनको नारायणी नदी किनार क्षेत्रमा आयोजना गरिने उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने गरी मूल व्यवस्थापन समितिले तयारीको काम तीव्र बनाएको जानकारी दिएको छ । 

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ !, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !’ मूल नारासहित एमालेले महाधिवेशन प्रचारलाई तीव्रता दिइरहेको छ । स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ संयोजक र सुरेन्द्र पाण्डे सहसंयोजक रहेको मूल व्यवस्थापनसहित विभिन्न उपसमितिहरू, चितवनस्थित स्थानीय कमिटीहरूले तयारीसम्बन्धी काम अगाडि बढाइरहेको छ । 

Views: