d

संविधानले निर्धारण गरेको मितिमा निर्वाचन  हुन्छ : माधब नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

    

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँचदलीय गठबन्धन अझ बलियो हुने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमी नगर संगठन कमिटीले आज मध्यपुरथिमीस्थित बालकुमारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए। 
     
अध्यक्ष नेपालले संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने, ‘कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्सन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ, रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।’     

उनले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरूलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए। अध्यक्ष नेपालले भने, ‘एमालेमा बसेर पछुताइरहनुभएको, तपाईंहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नुपर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।’     

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहंकार अब धेरै दिन नटिक्ने बताए। ‘देशव्यापी रूपमा आफ्नो पार्टीमा लहर बढेको छ। निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरूको हालत खत्तम बनाउनेछौँ,’ उनले भने। 
          
कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा शिलान्यास र उद्घाटन नगरे पनि प्रदेश सरकारबाट ल्याएको बजेटले जनताको पक्षमा काम गरेर देखाएको बताए। त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज ध्रुवराज विष्टले नेकपा समाजवादीमा जनलहर बढेको जनाउँदै आगामी चुनावसम्ममा बलियो भएर पार्टी अगाडि बढ्ने दाबी गरे। रासस

Views: