d

ओरालो लाग्यो शेयर बजार : फाइनान्स कम्पनीका लगानीकर्ता निराश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आउँदा फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोर्नुपरेको छ । फाइनान्स कम्पनी समूहमा मंगलबार ५ दशमलव २३ अंकले गिरावट आएको छ । त्यसैगरी, विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स समूूहको सूचक नकारात्मक बनेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक घट्दा सेयर लगानीकर्ता निराश बनेका छन् ।

नेप्से सूचक ७९ दशमलव ७९ अंकले घटेर दुई हजार सात सय ४९ दशमलव ७९ बिन्दुमा थामिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्ने समय आएकाले लगानीकर्ताको मुख्य चासो रहेको सेयर कर्जा लगानीमा चार करोड र १२ करोड रुपैयाँमा लगाइएको क्यापलाई चासोका साथ हेरिएको छ । यसैले लगानीकर्ता निर्णय गर्न नसक्ने अवस्थामा रहेको देखिएको छ । अर्को कारण भनेको लाभांश घोषणा गर्ने कम्पनीहरू पनि कमी हुँदै गएको अवस्था छ । जसले गर्दा पनि बजार घटेको अनुमान लगानीकर्ताले लगाएका छन् ।

सोमबार महालक्ष्मी विकास बैंक र आइसिएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मिथिला लघुवित्त, सामुदायिक लघुवित्त, गुडविल फाइनान्स कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । रुरु जलविद्युत् परियोजना, घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ६ प्रतिशतले घटेको छ ।उच्च अंकले घट्दा पनि तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । युनिलिभर लिमिटेड, प्राइम कमर्सियल बैंकको सेयर मूल्यमा झिनो अंकले सुधार आएको छ । प्राइम बैंकले सोमबार १६ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । जसमध्ये १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३ प्रतिशत नगद बोनस दिने घोषणा गरेको हो । 

कारोबार रकमको हिसाबले भने मंगलबार सकारात्मक देखिएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको एक करोड १९ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकले लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य केही दिन सकारात्मक बने पनि मंगलबार घट्न पुगेको छ । २ दशमलव २१ प्रतिशतले सेयर मूल्य घट्दा कारोबार बढेको हो । त्यस्तै, साहस ऊर्जा लिमिटेडको २५ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ  भने  अपि पावर कम्पनीको २२ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेसनल हाइड्रोपावर कम्पनी, प्राइम कमर्सियल बैंक, अरुण भ्याली हाइड्रोपावर, लुम्बिनी विकास, नेपाल रि–इस्योरेन्स कम्पनी, अरुण काबेली पावरको २० करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

Views: