d

फराकिलो अन्तरका साथ प्रदेश १ अध्यक्ष बन्दै छु - राप्रपा नेता सिटौला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीमा अब्बल, क्षमतावान, बौद्धिक, तार्किक अनि स्पष्टवक्ताको रूपमा परिचीत नेता हुनुहुन्छ भक्ती सिटौला । २०७० सालमा नेपाली कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका सिटौलाले  राप्रपा भित्र परिवर्तनको एजेन्डा बोकेर हिड्ने युवा पुस्ताको नेतृत्व गर्न सक्षम नेता मानिनु हुन्छ । राप्रपामा प्रवेश गर्नुअघि नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेर लामो राजनीतिक अनुभव हासिल गर्नु भएका सिटौला  बि. पी. कोइरालाले अंगिकार गरेको राजनीतिक आदर्श तथा राजा महेन्द्रको समाजवाद उन्मुख लोककल्याणकारी राज्य व्यवस्थालाई नेपाली कांग्रेसले पूर्ण रूपमा छोडेर गणतन्त्रलाई रोजेको कारण उक्त पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेको बताउनु हुन्छ।  राष्ट्र,  राष्ट्रियता, प्रजातन्त्र तथा राजसंस्था सहितको हिन्दुधर्म जस्ता महत्वपूर्ण एजेन्डा भएको पार्टीले राष्ट्रिय राजनीतिमा एउटा बलियो पार्टीको रुपमा उदाउने अपेक्षा लिएको बताउनु हुन्छ।  

नेतृत्वमा आमुल परिवर्तन गरि बलियो पार्टीको रुपमा विकसित  गराउंदै जानुपर्ने आजको आवश्यकता रहेको समेत वहाँको भनाइ छ।  

गत स्थानीय निर्वाचनमा राप्रपाबाट  विर्तामोड नगर प्रमुखको प्रत्याशी उम्मेदवार रहेका सिटौला संग नेपाली कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा भएको थियो । मेयर पदमा जितको बलियो सम्भावना बोकेका नेता सिटौलाको चुनाव चिन्ह गाई र उस्तै उस्तै चिन्ह देखिने हलगोरु चुनाव चिन्हमा मतदाताहरु झुक्किएकै कारण सिटौला पराजित हुनुपरेको तथा  राप्रपा बाटै प्रदेश सांसद पदको लागि समेत लडेका सिटौलाले झिनो मतान्तरले पराजित हुनुपरेको थियो।  

२४ सै घण्टा पूर्णकालीन समय दिन सक्ने र राजनीतिज्ञले सधैंभर जनताको सुख दुखमानै समय दिएमा मात्र असल नेता भइने बताउनुहुने नेता सिटौला पार्टीले लिएका विचार र  सिद्दान्तको जगमा रहेर राजनीति गर्दा मात्र सफलता मिल्ने बताउनु हुन्छ।    

गत आम निर्वाचनमा  झापाको  निर्वाचन क्षेत्र नं. ३ बाट राजेन्द्र लिङ्देनलाई विजयी गराउनको लागि लिंग्देंनको समर्थनमा नेत्रित्वदायी  भूमीकामा रहनु भएका सिटौला कांग्रेस नेता कृष्ण सिटौलाको राजनीतिक मिसनलाई टक्कर दिने एकमात्र झापाली नेताको रुपमा समेत परिचित रहनुभएको छ।  

राप्रपामा प्रवेश गर्ने वित्तिकै सांगठनिक रूपमा पार्टीलाई बलियो बनाउने अभियानमा जुट्नुभएका नेताहरु सिटौला र राजेन्द्र लिङ्देनकै कारण हल्दिवारी, झापा, कचनकवल, बनियानी, घोलधाप, भद्रपुर, बिर्तामोड, लगायतका क्षेत्रहरुबाट  राप्रपा प्रवेश गर्नेको लहरनै चल्न थालेको छ । 

राजेन्द्र लिङ्देनलाई केन्द्रिय अध्यक्ष बनाई राप्रपालाई फरक ढंगले सञ्चालन गर्ने लक्ष्य सहित राजनीतिक मिसनमा लागेका नेता सिटौलाले आसन्न प्रदेश १ अधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्रदेश १ अध्यक्षमा त्रिपक्षीय भिडन्त रहेता पनि आफ्नो जित निश्चित रहेकोे बताउन हुन्छ । प्रदेश अध्यक्षका आफ्ना प्रत्यासी उम्मेदवारको रूपमा रहनुभएका नेता राम थापा प्रती आफ्नो उच्च सम्मान रहेको बताउने सिटौला राम थापा जस्तो त्यागी र आदर्शवान नेता संग प्रतिस्पर्धा गर्नुपर्दा एउटा फरक ढंगको प्रजातान्त्रिक अभ्यास गर्न पाएको बताउनुहुन्छ । 

'हामी प्रजातान्त्रिक मूल्य र मान्यता प्रती आस्था राख्ने पार्टीको कार्यकर्ता हौं, यहि कारण राम थापा जस्तो कर्मठ, त्यागी र निष्ठावान नेता संग चुनाव लड्नु पर्दा अलि असहज महसुस भए पनि गौरवान्वित महसुस भएको छ।', पर्दाफास डट कम संग कुरा गर्दै नेता सिटौलाले भन्नुभयो ।  

आन्तरिक निर्वाचनले पार्टीलाई कमजोर पार्ने नभई बरु अझ बलियो बनाउदै लैजाने वहाँको धारणा छ। 

प्रदेश १ का सवैजसो मतदाता संग आफ्नो राम्रो सम्पर्क र सम्बन्ध रहेको भन्दै फराकिलो ढंगले आफुले जित्ने विश्वास व्यक्त गर्नुहुन्छ । 

'प्रदेश १ मात्र होइन अहिले मुलुकभर परिवर्तनको पक्षमा पार्टी भित्र जनमत देखिदै गएको छ, हाम्रो आदरणीय नेता राजेन्द्र लिंग्देनलाई भावी अध्यक्ष बनाउने हाम्रो प्रयासले सार्थक रुप लिंदै गएको छ। ' वहाँको भनाइ छ।   

'हामीहरु पार्टी भित्र आमूल परिवर्तन गर्दै बलियो पार्टी निर्माण गर्ने अभियानमा छौँ, युवाहरूलाई काम र जेष्ठ नागरिकलाई सम्मान दिने हाम्रो मुख्य मिसन हुनुपर्छ ।', युवा नेता सिटौलाले अगाडी बताउनु भयो ।

आफुलाई कसैले नेपाली कांग्रेसबाट आएको भन्दा खुशी लाग्ने सिटौलाको भनाइ छ। 

'कांग्रेसले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति छाडेको छ , राजा महेन्द्रको विकासवादी सिद्दान्तको जगलाई आत्मसात गरेको कांग्रेसले आज सबै कुरा भुलेर गणतन्त्र भन्दै हिंडेको छ, संवैधानिक राजतन्त्रको पक्षमा रहेको नेपालको एक मात्र पार्टी राष्ट्रिय प्रजान्तंत्र पार्टीमा रहेर कार्य गर्न पाउँदा अत्यन्तै खुशीको अनुभव गरिरहेको छु।', वहाँले भन्नुभयो।  

प्रदेश १ मा राम थापा र विश्वमोहन थापा जस्ता त्यागी, निष्ठावान र सहिष्णु नेता र कार्यकर्ता भएको राप्रपा आगामी स्थानिय र आम निर्वाचानमा बलियो पार्टीको रुपमा स्थापित हुँदै जानेमा विश्वस्त रहेको र प्रदेश अध्यक्षमा आफ्नु उम्मेद्वारीले पार्टीलाई थप मजबुत बनाएर लैजाने आफुमा आत्मा विश्वास रहेको नेता सिटौलाको भनाई छ। 

 

 

8884


 

Views: