d

एमाले अध्यक्ष ओलीले मंसिर ११ गते चितवनमा रात्रिभोज दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौँ । एमालेको दसौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् ।
ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्ररूपमा अगाडि बढाइरहेको उनले बताए ।
महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको बताए ।
जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन् ।
आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढङ्गले योजना बनाउँदै अगाडि बढेको बताए। थपलियाका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग मात्रै आर्थिक संकलन गर्नेगरी काम भइरहेको छ ।
कार्यालय समन्वय समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताए ।
पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुलाई बेलुकाको खाना उनीहरु बस्ने होटेलमा नै र बिहानको खाना बन्दसत्र स्थल होटेल सेभन स्टार सौराहामा हुँदैछ ।
प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम गरिरहेको समितिका सचिव तिलकराम रिमालले बताए ।
जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै सचिव रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताए । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पु¥याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको रिमालले बताए ।
जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको बताए। महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरुमा समन्वय गरिरहेको ज्ञवालीको भनाइ छ ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटेल सेभेन स्टारमा हुनेगरी तयारीको काम अगाडि बढिरहेको छ ।

Views: