d

यी हुन् आईपीओ निष्काशन गर्न बाँकी पाँच जीवन बीमा कम्पनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । चालु आर्थिक पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार आईपीओ निष्काशन गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको हो ।

नयाँ १० जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले मात्रै सर्वसाधारणलाई आईपीओ जारी गरिसकेका छन् ।

त्यस अनुसार अझै ५ जीवन बीमा कम्पनीहरुले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न बाँकी छ ।

रिलायवल, सिटिजन, आइएमई, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न बाँकी रहेका छन् । त्यस मध्ये रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्य सहित आईपीओ निष्काशन गर्ने तयारी छ ।

रिलायवल लाइफले १२० रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २२० रुपैयाँमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सन नेपालले पनि बीमा समितिबाट प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति पाइसकेको छ ।

तर सन नेपाल भने आईपीओ निष्काशनको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छैन् ।

खुद बीमा शुल्कमा सिटिजन लाइफ शिर्षस्थानमा

आईपीओ निष्काशनको तयारीमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

यसमा सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, रिलायवल लाइफले ९२ करोड ८९ लाख रुपैयाँ, आइएमई लाइफले ७९ करोड २४ लाख रुपैयाँ र सन नेपाल लाइफले ५७ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम भने २०७५ महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३२ करोड ५२ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । 

खुद नाफामा रिलायबल लाइफको अग्रता

चालु आर्थिक वर्षमा पहिलो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्योरेन्सले खुद नाफामा अग्रता लिएको छ । यस अवधिमा रिलायबल लाइफले सबै भन्दा धेरै ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद नाफाका आधारमा दोस्रो स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । सिटिजनले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै, सन नेपाल लाइफले ५ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने सबैभन्दा कम २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

merolagani

Views: