d

भीम रावलले मलाई चुनाैती दिनुभएकाे हाेइन, सम्मान देखाउनुभएकाे हाे : केपी ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताएका छन् । मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।   

उनले भने, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन । उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ 

अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेकाे घाेषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएकाे छ । ‘उहाँकाे स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्ताे सुझाव सबैले मन पराउँछन्’, ओलीले भने । 

गएकाे आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घाेषणा गरेका थिए।  

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरूको सुझाव रहेको पनि बताए । उनले  लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे  । 

पार्टीको पदाधिकारी वा केन्द्रीय समितिमा आउनेहरूलाई आफूले आफूले कुनै दबाब र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीलाई तपाईँले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनी प्रश्न गरिएको थियो । त्यसको जवाफमा उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए।  

ओलीले पार्टीका नेताहरूको व्यवस्थापनमा आफूले ध्यान नदिने बताए । देश र नागरिककाे व्यवस्थापनमा आफूहरूको ध्यान जाने उनको भनाइ थियो । 

 

image: hamropatro

Views: