d

एमालेको १०औं महाधिवेशनः जुटेन सहमति, अब निर्वाचनकै सहारा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास आइतबार दिनभर असफल भएको छ । आइतबार दिनभरि अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आकांक्षीहरूसँग दिनभरि छलफल गरे पनि कुनै सहमति जुटन सकेन ।

शुक्रबार भएको बन्दसत्रले सर्वसम्मतमा पदाधिकारी र सदस्य चयनको प्रस्ताव गर्न अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई अधिकार दिएको थियो । आइतबार दिनभरि ओलीले नेताहरूसँग छलफल गरेका छन् । तर सहमति हुन नसक्दा उनले सर्वसम्मतमा नाम प्रस्ताव गर्न नसकेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सर्वसम्मतमै नेतृत्व चयन हुने बताए ।

अध्यक्ष मण्डलका अध्यक्ष ओलीले आफूखुसी बन्द सत्रको कार्यक्रम ढिला गरेको भन्दै आपत्ति जनाएका छन् । उनले ११ मंसिरमा उम्मेदवारी दर्ता र १२ मंसिरमा मतदान गर्ने कार्यक्रम भए पनि सोहीअनुसार कार्यक्रम अगाडि नबढाएको भन्दै आपति जनाएका छन् ।

आइतबार १० बजे बिहान सुरु गर्ने भनिएको बन्दसत्र सुरु हुन सकेन । त्यसपछि ७ बजे राति बन्दसत्र सुरु गर्ने भनिए पनि सो समयमा समेत सुरु हुन सकेन । ८ बजे राति सुरु गर्ने भनिएको बन्द सत्र १० बजे राति सुरु भएको छ । तर, बन्दसत्र सुरु हुनुभन्दा अघि अध्यक्ष मण्डलको बैठक जारी रहेकाले बन्दसत्र कतिखेर सुरु हुने कुनै ठेगान छैन ।

पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास ओलीले जारी राखेको उनीनिकट एक नेताले बताए । तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीम रावल र महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका विष्णु पौडेलको अडानका कारण ओलीलाई सर्वसम्मतमा सकस भएको छ ।

महाधिवेशनको बन्दसत्रमा सहभागी एक नेताका अनुसार अन्य पदमा सर्वसम्मत निर्वाचित गर्ने वातावरण बनाइसकेका ओलीलाई रावल र पौडेलका कारण सकस परेको हो । ओलीले रावललाई अध्यक्षमा उम्मेदवारी नदिई सर्वसम्मत उपाध्यक्ष बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेका छन् । तर, रावल स्रोतका अनुसार शनिबार ओली र रावलबीच कुनै प्रकारको छलफल वा भेटघाट नै भएको थिएन । आइतबारसमेत ओली र रावलबीच कुनै प्रकारको छलफल हुन सकेन ।

सर्वसम्मत पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्न बन्दसत्रले ओलीलाई अधिकार दिँदै गर्दा रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम नै रहेको बताएका थिए । मतदातामाझ उनी अध्यक्ष पदका लागि मत मागिरहेका छन् । रावलनिकटका नेताहरूले अध्यक्षमा रावललाई मतदान गर्न भन्दै आइतबार दिनभरि मत मागेका छन् ।

समयमै बन्दसत्र सुरु नभएका कारण महाधिवेशन प्रतिनिधि दिनभर सांस्कृतिक कार्यक्रमका साथै जंगलसफारीसहित घुमफिरमा दिन बिताएका छन् । कोही सडकमै नाचगानमा रमाइलो गरे भने कोहीले सौराहाको मनोरम दृश्य हेरेर रमाइलो गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्तै, महासचिवका आकांक्षी विष्णु पौडेललाई उपाध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव पौडेलले अस्वीकार गर्दै अडान कायम नै राखेको स्रोतको दाबी छ । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शंकर पोखरेललाई नै महासचिव बनाउनुपर्ने अडान लिएपछि ओलीले पोखरेललाई महासचिवमा ल्याउन पौडेललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार ओली पहिला आफू सर्वसम्मत अध्यक्ष बन्ने रणनीतिमा छन् । आफू अध्यक्ष बन्ने सुनिश्चित भएको अवस्थामा अन्य पदमा उनले सजिलै मिलाउन सक्छन् । विगतमा आफूलाई सहयोग गर्दै आएका नेतालाई उनले विभिन्न पदमा व्यवस्थापन गर्न सक्छन् । ओली निकटका विभिन्न नेताले आकांक्षा व्यक्त गरेकै पदमा आउन नसक्ने भए पनि अन्य पदमा तलमाथि गरेर आउन सक्छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, घनश्याम भुसाल, रघुवीर महासेठलाई बनाउने ओलीको भित्री रणनीति रहेको छ । महासचिवमा विष्णु कि शंकर हुनेमा विवाद छ । उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझीको नाम करिब करिब टुंगो लागिसकेको स्रोतको दाबी छ ।

एमालेको शनिबार संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटब्युरो कमिटी गठन हुनेछ । सुरुमा पदाधिकारी र त्यसपछि केन्द्रीय सदस्य नाममा सर्वसम्मत गराउने प्रयास जारी छ ।

पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने एमालेले विधानमा संशोधन गरेको छ । एमाले महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय निर्वाचित हुने बताए । यस्तै, ७ प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।

विभिन्न पदका आकांक्षी बढेका कारण मिलाउन समस्या भएको छ । तर, पनि मिलाएरै सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास जारी नै रहेको छ । महाधिवेशन प्रतिनिधि गोकुल बाँस्कोटाले यसअघिको महाधिवेशन निर्धारित समयमा नसकिएको बताउँदै समय लम्बिन सक्ने बताए । राजधानी। 

Views: