d

वर्तमान राजनीतिक अवस्थाबाट जनता असन्तुष्ट छन्ः लोकेन्द्रबहादुर चन्द

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले विभिन्न राजनीतिक दलका नेताहरुलाई देशमा अहिले भइरहेकै परिस्थिति ल्याउनका लागि विगतमा संघर्ष गरेको हो र भन्ने प्रश्न गरेका छन् । पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चन्दले अहिले जनता सन्तुष्ट हुन नसकेको बताए । पार्टीका केही कार्यकर्ता, अवसर पाएका सीमित व्यक्तिहरु सन्तुष्ट भएपनि अहिले आम नेपाली जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।
उनले मुलुकमा बाहिरी हस्तक्षेप बढेको तथ्यलाई कसैले इन्कार गर्न नसक्ने बताए । दलहरूलाई उनले प्रश्न गरे, ‘बाहिरी हस्तक्षेपमात्र छ र ? अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको हो र ?’ अहिले मुलुकमा अन्यायले न्यायलाई दबाएको चर्चासमेत उनले गरे । उनले देशमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको पनि बताए ।
उनले राप्रपाको नेतृत्व सहमतिबाटै अध्यक्ष चयन हुनुपर्छ भन्ने भावना धेरैको रहेको भन्दै पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सहमतिकै लागि भनेर त्याग गरेको बताए । उनले त्यागको यो भावना विस्तार हुँदै जाने र अन्त्यमा पार्टीले सर्वसम्मत् नेतृत्व प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।
चन्दले माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताए । माओवादी अध्यक्ष प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्ने कटाक्ष गरेपछि चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् ।
उनले सीपी मैनालीले सम्बोधनका क्रममा बोलेको कुरालाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको बताए । उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।

Views: