d

कांग्रेस महाधिवेशन: प्रदेश अधिवेशन आज हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई संघीय संरचना पनि त्यहीअनुसार ढालेको छ । जसअनुसार कांग्रेसले वडा, पालिका, प्रतिनिधिसभा÷प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ । बुधबारसम्म कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बिहीबार एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ । 

१४औँ महाधिवेशनपछि कांग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ । 

कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सबै तयारी पूरा गरी प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको जानकारी दिए । उनका अनुसार सात प्रदेशका लागि तीन–तीनजनाका दरले २१ अधिकृत तोकिएको छ ।

प्रदेश १ को निर्वाचन अधिकृतमा भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल, प्रदेश २ मा प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार शाह, बागमतीमा केशव काफ्ले, ज्ञानेन्द्रप्रसाद अधिकारी र होमनाथ नेपाल, गण्डकीमा कृष्णबहादुर थापा, विष्णुकुशल भुजेल र यज्ञबहादुर राणा, लुम्बिनीमा प्रा.डा. बुद्ध थापा, घनश्याम पन्त र जीवनारायण अधिकारी, कर्णालीमा अरुण पौडेल, विवश बस्नेत र कृष्णप्रसाद शर्मा, सुदूरपश्चिममा वीरबहादुर जेठारा, घनश्याम पाध्या र सुवासचन्द्र उपाध्यायलाई खटाइएको छ । ‘सबै तयारी पूरा भएको छ । अधिवेशनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत खटाइसकेका र्छाैँ,’ उनले भने ।

कांग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो । २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले दिएको जिम्मेवारीअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा गर्ने र संयोजकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकको छ । प्रदेश २ को अधिवेशन जनकपुर र संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल, बाग्मती प्रदेशको अधिवेशन हेटौँडा र संयोजकमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशको अधिवेशन पोखरा र संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको अधिवेशन बुटवल र संयोजकमा बालकृष्ण खाँण, कर्णाली प्रदेशको अधिवेशन सुर्खेत र संयोजकमा केन्द्रीय सदस्य जीवनबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढी र संयोजकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ ।

प्रदेश अधिवेशनका लागि पौडेल–कोइराला पक्षले तोक्यो केन्द्रीय नेतालाई जिम्मेवारी 

सातै प्रदेशमा पदाधिकारी कसलाई उठाउने भन्नेमा निर्णय लिन संस्थापन इतर समूह (रामचन्द्र पौडेल) ले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको छ । बुधबार कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, डा.शेखर कोइराला, सरिता प्रसाई र गुरु घिमिरे, प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव र रामकृष्ण यादव, बाग्मतीमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.रामशरण महत र गगन थापालाई जिम्मेवारी तोकिएको छ । यस्तै, गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कमला पन्त, दिलबहादुर घर्ती र जीवन परियार, लुम्बिनीमा चन्द्र भण्डारी र दीपक गिरी, कर्णालीमा हृदयराम थानी, सुदूरपश्चिममा दिलेन्द्र बडू र बद्री पाण्डेलाई तोकिएको छ । नयाँ पत्रिका । 

Views: