d

नवनिर्वाचित नेतृत्वलाई प्रकाशचन्द्र लोहनीले भने: 'म ठूलो हुँ' भन्ने भाव नराख्नू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन्।

आइतबार राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरूको सपथ तथा प्रमाण पत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने बित्तिकै 'म ठूलो भएँ' भन्ने भावना पाल्न नहुने बताएका हुन्। 


उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गएर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए।

निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभए पनि सशक्त प्रतिपक्षको रूपमा उपस्थिति जनाउने गरी देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए।

उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरूको सम्मान गर्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरे।


निवर्तमान अध्यक्ष लोहनीले भने, ‘हाम्रो उद्देश्य भनेको यो पार्टीलाई बनाउनु हो। यो पार्टीलाई राष्ट्रको एउटा अग्रणी शक्तिको रूपमा नेपालको रूपान्तरण गर्ने शक्तिको रूपमा स्थापित गर्नु हो। त्यो काम गर्नका लागि हामीहरू सबैले अब हातमा हात मिलाएर एक भएर हामीहरू सबैले नयाँ नेतृत्वलाई बल दिने, नयाँ नेतृत्वलाई साथ दिने र हामी सबैले मिलेर जानुपर्ने अवस्था छ। यदि हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बनाउने हो।’

पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर लाग्न उनले सुझाव दिए।

‘यो पार्टी भित्रको राजनीतिक संस्कार पनि उस्तै हुनुपर्छ। कार्यकर्ताले नेतालाई इज्जत गर्ने, नेताले कार्यकर्तालाई माया गर्ने, र नेताको सम्मान गर्ने, नेता र कार्यकर्ता दुवै अनुशासनमा बाँधिएर रहने यो राजनीतिक संस्कार हामीले यो पार्टीमा स्थापित गर्नु पर्दछ। नेता हुने बित्तिकै म ठूलो भएँ। मैले भनेको जे पनि चल्छ, होइन’, उनले भने,‘पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने। कार्यकर्तालाई नेताले माया गर्ने। म ठूलो, तँ सानो भनेर न्यूनीकरण गर्ने काम नगरौं।’

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउँदै अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए। सेतो पाटी ।

Views: