d

पूर्वराजा ज्ञानेन्द्रको कमल थापाको आक्रोश: भन्छन्, राजाले हस्तक्षेप गरेको भएको प्रमाण सुरक्षित छ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट महाधिवेशनमा भएको हस्तक्षेपपछि राजतन्त्रप्रतिको विश्वास नै डगमगाएको बताएका छन् ।
अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि मंगलबार पहिलो पटक औपचारिक वक्तव्य निकाल्दै थापाल राप्रपाको केन्द्रीय निर्वाचनमा निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेप भएको प्रमाण आफूसँग रहेको दाबी गरे ।
‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको म घोर भत्सर्ना र निन्दा गर्दछु’, उनले भनेका छन्, ‘फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाबारे भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ ।’
उनले आफ्नो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशका रूपमा नबुझ्न पनि आग्रह गरेका छन् । ‘एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन’, उनले भनेका छन्, ‘हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’
‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ’, उनले भनेका छन्, ‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकका रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाका रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।’
उनले राजसंस्थालाई अभिभावकका रुपमा स्वीकारे पनि यो महाधिवेशनमा भएको हस्क्षेपले भ्रम टुटेको पनि बताएका छन् ।
‘राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकका रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दामाथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौँ’, उनले भनेका छन्, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ ।’
थापाले राजसंस्था फर्किएमा फेरि पनि लोकतान्त्रिक प्रणालीमा हस्तक्षेप हुन सक्ने बताएका छन् । ‘हाम्रो महाधिवेशनबाट भएको हस्तक्षेपबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?’, उनले सोधेका छन्, ‘अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु ।’
थापाले राजसंस्थाबारे र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारे अब राप्रपाभित्र बहस शुरू हुने पनि बताएका छन् ।

 

image: kathmandu pati

Views: