d

कांग्रेसकाे १४औँ महाधिवेशन : बन्दसत्र सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा आज राति करिब ९ बजेदेखि सुरु भएको छ । बन्दसत्र सुरु भएको र बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

यसैगरी, बन्दसत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेस गरिएको छ ।

 पेस गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ । यसअघि आज भृकुटीमण्डपको प्रांगणमा महाधिवेशनको भव्य रूपमा उद्घाटन सम्पन्न भएको थियो। यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरू चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको छ। उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबीविरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबीविरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ। नयाँ पत्रिका।  

Views: