d

सभापतिमा देउवासहित ६ उम्मेदवार, को बलियो? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाको उम्मेदवारी परेको छ । दुई उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीसहितको समूह बनाएर उम्मेदवारी दिएका छन् । कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार छन् । त्यस्तै सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निधिको प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
उपसभापतिमा देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीको उम्मेदवारी परेको छ । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् । निधिको प्यानलबाट दिव्येश्वरी शाह पनि उम्मेदवार बनेकी छन् । उपसभापतिमा महेश आचार्यले पनि उम्मेदवारी दिएका छन् ।
त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।
त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

Views: