d

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि निर्वाचन र सडक सङ्घर्ष दुवै : राजेन्द्र लिङदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दाङ :  राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अभियानलाई पार्टीले निर्वाचन र सडक सङ्घर्षको बाटोबाट लैजाने बताए। 

बिहीबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले भने, ‘ हामी राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि दुईवटा बाटोबाट सँगसँगै अगाडि लैजान्छौँ। जुन बाटोबाट छिटो हुन्छ। हामी त्यही बाटोबाट हाम्रा मान्यता स्थापित गछौँ।’

त्यस्तै उनले आफूहरूले गर्ने सडक सङ्घर्षका कार्यक्रम भने पूर्णरूपमा शान्तिपूर्ण र अहिंसात्मक हुने समेत बताए। 

त्यस्तै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष लिङदेनले सरकारले एससिसीलाई संसद्‌मा पेश गरेपछि मात्र आफूहरूले औपचारिक धारणा बनाउने बताए।

उनले सरकारले एमसिसी संसद्‌मा पेश नगर्दै यसबारे बाहिर आएको व्यापक चर्चा र टीका टिप्पणीले सिंगो देश र जनतालाई नै विभाजित गरेको अवस्था देखिएको भन्दै एउटा देशका लागि ५५ अर्ब रुपैयाँ ठूलो कुरा नभएको समेत बताए।

यसैगरी उनले एमसिसीका बोरमा जनतालाई पूर्णरूपमा सरकारले जानकारी गराउनुपर्ने समेत बताए। 

‘सरकारका तर्फबाट यसबारे जनतालाई पूर्णरूपमा जानकारी गराउनुपर्छ। आम जनताको सहमतिविना त्यसलाई संसद्‌मा पेश गर्नु उचित हुँदैन‘‚ उनले भने।

त्यस्तै उनले देशमा अहिले भइरहेको भ्रष्टाचार रोक्न सके एमसिसी जस्ता कैयौँ रकम बचाउन सकिने धारणा व्यक्त गरे। 

त्यस्तै भ्रष्टाचार मात्र नभई अहिले राष्ट्रिय गौरवका योजनामा ढिलासुस्तीका कारण लागत दोब्बर हुने गरेको भन्दै यस्तो कार्यलाई पनि रोक्न सके धेरै रकम बचत गर्न सकिने भएकाले एमसिसी जस्ता विवादास्पद सम्झौता, सहयोग लिन अहिले हतार गर्न नहुने समेत उनको भनाइ थियो।

file image

Views: