d

इञ्जिनियरहरूमाथि मन्त्री झांक्रीको व्यंग्य: ढलको बिर्को मिलाउने दिन कहिले आउला? (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौंका सडकमा ढलका ढक्कनहरू हामी यत्रतत्र देख्छौं। ती ढक्कनहरू सडक सतहसँग मिलेका हुँदैनन्। कुनै ठाउँमा ढलको ढक्कन सडक सतहभन्दा होचो हुन्छ, कहीँ सतहभन्दा अग्लो हुन्छ। दुवै अवस्थामा या त बीच सडकमा खाल्डो परेको हुन्छ या ढिस्कोजस्तो उठेको हुन्छ। यसले दुईपांग्रे सवारी दुर्घटना हुने जोखिम बढेको छ।

सर्वसाधारणले लामो समयदेखि झेल्दै आएको यो समस्यामा सडक विभागका इञ्जिनियरहरूले कहिल्यै ध्यान दिएको पाइँदैन। सजिलै सच्याउन सकिने यो गल्तीमा आजसम्म न विशेषज्ञ इञ्जिनियरहरूको आँखा पुगेको छ, न सडक विभागका प्रमुखहरूले इञ्जिनियरहरूलाई सचेत गराएका छन्।


सडक विभागको बेथिति र इञ्जिनियरहरूको लापरबाही प्रस्टसँग झल्काउने यो विषय सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शुक्रबार सार्वजनिक रूपमा उठाएकी छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री झाँक्रीले आफूलाई जहिले पनि सडकमा राखिएका ढलका ढक्कनले दु:ख दिने गरेको बताउँदै ढलको ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनियरहरूलाई प्रश्न पनि गरेकी छन्।

‘कालगतिले कहाँबाट के-के भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,’ झाँक्रीले भनिन्, ‘तर म स्कुटर चढ्ने मान्छलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो। म पटक-पटक लडेँ। यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।’


उनले मन्त्रालयमा ढलको बिर्को मिलाउन जान्ने इञ्जिनियर कम भएको र ठूल्ठूला सहरी योजनाका कुरा गर्नेहरू धेरै भएको भन्दै व्यंग्य पनि कसिन्।

नयाँ बन्दै गरेको हेर्न मन्त्री निवास हेर्न जाँदा कोठामा बिमैबिम देखेको प्रसंग उल्लेख गर्दै उनले भनिन्, 'हाम्रा इञ्जिनियरहरूले ढलका बिर्का मात्रै मिलाउँदा रहेनछन्, हाम्रो गाउँका सुब्बा दाइले जतिको पनि इञ्जिनियरिङ गर्दा रहेनछन्।’

इञ्जिनियरहरूलाई आफ्नो दक्षता सुधार गर्नुस् भनेर भनेको पनि उनले बताइन्।

‘बाँकी खरिद-सरिदका गफ गर्दिनँ। जान्दा पनि जान्दिनँ,’ उनले भनिन्, ‘जुन दिन हाम्रा इञ्जिनियरहरू ढलका बिर्का मिलाएर आउनेछन्, हामीजस्ता इञ्जिनियरिङ दक्षता नभएका मान्छेलाई त्यति बेला चुनौती हुनेछ।’  सेतों पाटी ।

फाइल तस्बिर 
 

के भनिन् मन्त्री झांक्रीले ? please click here

Views: