d

प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधि नअट्ने भएपछि तनावमा माओवादी केन्द्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आइतबार सुरु हुने नेकपा माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलन आयोजना स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल प्रतिनिधि अट्न अपुग हुने भएको छ। 


प्रज्ञा प्रतिष्ठानका सिटभन्दा झन्डै ३ सय जना प्रतिनिधि बढी हुने भएकाले अब के गर्ने भन्ने विषयमा सम्मेलनको पूर्वसन्ध्यामा बस्न लागेको स्थायी समिति बैठकमा नेताहरूले छलफल गर्दै छन्। 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा करिब साढे १३ सयवटा कुर्सी छन्। तर माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा १ हजार ६ सय ३१ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ। 

नियमित प्रक्रियाबाट १ हजार ४ सय ८३ जना र मनोनीत १ सय ४८ जना मनोनीत गरी १ हजार ६ सय ३१ जना प्रतिनिधि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। 


यसअघि कूल राष्ट्रिय सम्मेलनका प्रतिनिधिको ५ प्रतिशत मात्र मनोनीत हुने भनिएको थियो। त्यत्ति मात्र हुँदा पनि सम्मेलनका प्रतिनिधि बस्न सिट पर्याप्त हुँदैनथ्यो। 

झन् मनोनीत प्रतिनिधिको संख्या ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएपछि सिट संख्याको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले माओवादी केन्द्रलाई मुस्किल पारेको छ। 

‘प्रज्ञा प्रतिष्ठानको हलमा रहेका सिट संख्या र राष्ट्रिय सम्मेलनका प्रतिनिधि संख्यामा केही तालमेल मिलेको छैन’, माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीनाथ ढकालले नेपालखबरसँग भने,  ‘तैपनि कसैगरी व्यवस्थापन गर्नेछौँ।’

‘प्रज्ञा प्रतिष्ठानको हलमा मुस्किलले १४ सय सिट रहेछन्, तर राष्ट्रिय सम्मेलनमा करिब साढे १६ सय प्रतिनिधि सहभागी हुँदैछन्’ पार्टी केन्द्रीय सदस्य प्रकाश पोखरेल भन्छन्, ‘के गर्ने भन्ने अप्ठेरो परेको छ।’ 

हलको सिट संख्या भन्दा प्रतिनिधि संख्या झण्डै ३ सय बढी भएपछि विकल्पमा भृकुटीमण्डपस्थित प्रदर्शनी हल र गोदावरीस्थित सनराइज हलका विषयमा छलफल भए पनि दुवै हल उत्तम विकल्प नभएको निष्कर्षमा नेताहरू पुगेका छन्। 

‘गोदावरी टाढा पर्छ, भृकुटीमण्डपको हलमा पनि टेन्ट टाँग्नुपर्छ’, पोखरेलले भने, ‘त्यसैले प्रज्ञा हलमा नै कसैगरी व्यवस्थापन गर्ने निष्कर्षमा व्यवस्थापनमा रहेका साथीहरू पुग्नु भएको छ।’

राष्ट्रिय सम्मेलनको व्यवस्थापनमा खटिएका पार्टी केन्द्रीय सदस्य एवं माओवादी केन्द्रका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माका अनुसार, प्रज्ञा हलभित्र आवतजावत गर्न राखिएको बाटो (प्यासेज) र मञ्च अगाडिको भागमा चकटी ओछ्याएर प्रतिनिधिको व्यवस्थापन गर्ने तयारी छ।

‘जिल्लाजिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्, यस्तो स्थितिमा प्रतिनिधि संख्या घटाउने विकल्प नै छैन’, शर्माले भने, ‘उद्घाटनका दिन हलबाहिर पनि मानिसहरू बस्न सक्छन्। बन्दसत्रमा चाहिँ प्यासेज र मञ्च अगाडिको भागमा प्रतिनिधिहरू बस्ने व्यवस्थापन गरिनेछ।’ नेपाल खबर । 

Views: