d

एमाले झापाकाे अध्यक्षमा चार आकाङ्क्षी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गृहजिल्ला झापामा पार्टीको सर्वसम्मत नेतृत्व छान्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी ओलीको योजना अन्ततः विफल हुने सम्भावना देखिएको छ । 

अध्यक्षमा चार आकाङ्क्षी भएपछि अध्यक्ष ओलीको योजना विफल हुने सङ्केत देखिएको हो । अध्यक्षमा शिव ढुङ्गेल, दीपक कार्की, मदन अधिकारी र प्रेम गिरीले दाबी गरेका छन् । यसअघि अध्यक्षमा ढुङ्गेल र कार्कीको मात्रै दाबी थियो । अहिले अधिकारी र गिरीले पनि अध्यक्षमा दाबी गरेको एक नेताले बताए । 

पार्टी अध्यक्ष ओलीले अध्यक्षमा कार्की  र सचिवमा ढुङ्गेलको नाममा आन्तरिक तयारी टुङ्ग्याएका थिए । यो तयारी योजना बाहिरिएपछि अध्यक्षका आकाङ्क्षी एकाएक थपिएका हुन् । 

चार दिनअघि (पुस ७ गते) बिर्तामोडमा बसेको जिल्ला कमिटी बैठकमा अधिकारी र गिरीले अध्यक्षमा दाबी प्रस्तुत गरेका हुन् । उनीहरूको दाबीसँगै एमाले अध्यक्ष ओली आफ्नो योजनामा बिफल हुने सम्भावना अधिक छ । बुधबारसम्म अध्यक्षमा ढुङ्गेल र कार्कीको मात्र दाबी थियो । 

अध्यक्षका चार जना दाबेदार देखिएपछि एमाले अध्यक्ष हिजो झापा आइपुगेका छन् । बाहिर ‘पार्टीका सार्वजनिक कार्यक्रम’ देखाइएपनि अध्यक्ष ओली आन्तरिक छलफलका लागि झापा आएको चर्चा चुलिएको छ । 

तर एमाले झापाका कार्यालय सचिव ढुङ्गेलले अध्यक्ष ओली जिल्ला अधिवेशनलाई केन्द्रित भएर झापा आएको कुरामा कुनै सत्यता नभएको बताए । उनले भने, ‘अध्यक्ष ओलीको यो कार्यक्रम निर्वाचन क्षेत्रकेन्द्रित र जनतासँग भेटघाटमात्रै हो ।’ अहिलेको कार्यक्रम जिल्ला अधिवेशनको मिति तोकिनुअगावै निर्धारित भएको उनले बताए । 

अध्यक्षका चार जना दाबेदार देखिएपछि एमाले अध्यक्ष हिजो झापा आइपुगेका छन् । बाहिर ‘पार्टीका सार्वजनिक कार्यक्रम’ देखाइएपनि अध्यक्ष ओली आन्तरिक छलफलका लागि झापा आएको चर्चा चुलिएको छ । 

स्रोतका अनुसार अध्यक्षमा कार्की, उपाध्यक्षमा गिरी, सचिवमा ढुङ्गेल, उपसिचवमा असारु राजवंशी र रेनुका डाँगी रहनेगरी नेताहरूबीच छलफल भइरहेको छ । तर त्यसमा सहमति नभएको बुझिएको छ । 

अध्यक्षमा दाबी गरिरहेका चारैजना आकाङ्क्षी पछि नहटे झापा एमालेमा निर्वाचन हुनेछ । तीन दिनयता झापामा रहेका अध्यक्ष ओलीले सबैसँग बसेर छलफल गर्ने र आफ्नो योजनाअनुसार अघि बढ्न निर्देशन दिने सम्भावना पनि टड्कारो रहेको स्रोतले बताएको छ । 

अध्यक्षमा दाबी गरिरहेका ढुङ्गेल बाहेकका सबै नेता पार्टी राजनीतिबाट आएका हुन् । ढुङ्गेल अनेरास्ववियुको नेतृत्व हुँदै पार्टी राजनीतिमा उदाएका हुन् । कार्की र गिरी संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् । अधिकारी एमाले झापा सचिवको जिम्मेवारीमा रहिसकेका व्यक्ति हुन् । 

उनीहरू सबै झापा एमालेको राजनीतिमा सक्रिय छन् ।  जिल्ला अध्यक्षका दाबेदार रहेका ढुङ्गेलले अरू नेताको विषय थाहा नभएको तर अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताए । उनले अध्यक्षका के–कति दाबेदार हुने भन्ने कुरा आफूले भन्ने विषय नभएको बताए । ‘म अध्यक्षको दाबेदार हुँ, सबै कुरा मैले भन्ने विषय पनि होइन, अहिले नै म भन्न पनि सक्दिनँ,’ ढुङ्गेलले भने ।

यसरी हुँदैछ अधिवेशन 

एमाले झापाको अधिवेशन पुस २३ गते हुने निश्चित भएको छ । प्रतिनिधि छान्नका लागि पुस १७ गते जिल्लाका एक सय ३१ वटै वडामा अधिवेशन हुनेछ । 

वडाको कार्यक्रम एकै दिन हुनेछ । सर्वसम्मत नभए चुनावी प्रक्रियाबाट प्रतिनिधि छानिने छन् । प्रत्येक वडाबाट पार्टीका ५० सङ्गठित सदस्यमध्येबाट एक जना जिल्ला अधिवेशन प्रतिनिधि छानिने छन् । दलिततर्फ २५ सदस्यबराबर एक जना, सबै जनवर्गीय तर्फबाट पाँच–पाँच जना छानिने छन् ।  

जिल्लामा क्रियाशील मजदुर सङ्गठनबाट २० प्रतिनिधि छानिने छन् । झापामा एमालेको जिल्ला कमिटी एक सय १४ सदस्यीय छ । उनीहरू सबै अधिवेशन प्रतिनिधि हुनेछन् । यसरी छानिएका सबै प्रतिनिधिलाई उम्मेदवार बन्ने र नेतृत्व छान्ने अधिकार हुन्छ । 

झापामा एमालेका ३० हजारभन्दा बढी सङ्गठित सदस्य छन् । जिल्ला अधिवेशनमा आठ सयदेखि एक हजार प्रतिनिधि सहभागी हुने छन् । एमालेको जिल्ला अधिवेशन बिर्तामोडमा हुनेछ । 

Views: