d

प्रधानन्यायाधीशकाे परिवारको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।

विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।

‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले भने,‘उजुरी परेकै दिनदेखि अनुसन्धानको प्रक्रिया सुरु भइसकेको छ।’ 

उनले राणाको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने जानकारी दिए। त्यसका लागि अनुसन्धान अधिकृत तोक्ने तयारी भइरहेको पनि दाहालले बताए। दाहालका अनुसार जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई तथा बैंकहरूको कारोबार तथा मौज्दात हेर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा.गोविन्द केसीले प्रधानन्यायाधीश राणा, उनकी श्रीमती, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार विभागमा उजुरी दिएका थिए।

राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न उजुरीमा केसीले माग गरेका छन्। थाहा खबर 

Views: