d

 वैकल्पिक माध्यमबाट पढाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ — शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

देशभरका आधारभूत र माध्यमिक विद्यालय (कक्षा १–१२) मा बिदा दिने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । मन्त्रालयको निर्णयपछि सीटीईभीटीअन्तर्गतका कक्षा पनि पुस २७ (मंगलबार) देखि माघ १५ सम्म बन्द हुने भएका छन् ।

विद्यालय बन्द रहे पनि अललाइन, रेडियो, टेलिभिजन, टेलिफोन, प्रिन्टलगायत सिकाइ सामग्री, पाठ्यपुस्तकको सहयोगले सिकाइलाई निरन्तरता दिन सकिने विज्ञहरूले बताएका छन् । 

Views: