d

गुरु बराललाई एमालेकै सांसदबाट धोका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन ।

 प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन गई बराबरीमा खुम्चनुपर्‍यो ।


एमाले मोरङका एक नेताले रातोपाटीसँग भने, ‘अन्य पार्टीका केही स्थानीय जनप्रतिनिधिले समेत बराललाई मतदान गरेका थिए, तर उनले आफ्नै पार्टीका  दुईजना प्रदेश सांसदको मत पाएनन् । एकजना सांसदले मात्रै गद्दारी नगरेको भए बरालले सजिलै जित्ने थिए ।’


एमालेका ती नेता भन्छन्, ‘गठबन्धनमा संलग्न माओवादी र एकीकृत समाजवादीका केही स्थानीय जनप्रतिनिधिले बराललाई मतदान गर्ने संकेत बिहानै देखिइसकेको थियो, तर एमालेकै प्रदेश सांसदले आफ्ना उम्मेदवारलाई भोट नदेलान् भनेर कसैले अनुमान गरेन ।’


प्रदेश १ मा गठबन्धनको कुल भोट ४६५० थियो । तर, काँग्रेसका गोपाल कुमार बस्नेतले ४४८८ मत मात्रै पाउनु एमालेका लागि फाइदाको विषय थियो । एमालेसँग १४३ स्थानीय जनप्रतिनिधिको मतभार २५७४ थियो । तर, एमाले नेता बरालले ५ जना स्थानीय जनप्रतिनिधिको मत थपेर २६६४ मत (९० मत) बढी ल्याए । यसमा ४० प्रदेश सांसदको १९२० मत थप्न पाएको भए बरालको मत ४५८४ पुग्ने थियो । तर, उनी ४४८८ मत ल्याएर पराजित बने । अर्थात् उनले एमालेकै दुईजना प्रदेश सांसदको मत गुमाएर ३८ मत मात्रै पाए ।


एमालेकै प्रदेश सांसदले बराललाई भोट नदिनुमा मुख्यतः एमालेभित्रको गुटबन्दी नै  प्रमुख कारण रहेको एमाले नेताहरू बताउँछन् । बराल विगतदेखि नै केपी ओलीका भक्त हुन् । विगतमा एमालेकै तेस्रो धारका नेताहरूलाई सताएका कारण उनीमाथि प्रदेश सांसदले बदला लिएका हुन् । एक प्रकारले प्रकारले भन्ने हो भने बरालको हारको कारण ‘१० बुँदे पक्षधर भर्सेस ओली गुट’ बन्न गयो ।


त्यसो त एमाले सांसदहरूले गुरु बरालको हकमा मात्र होइन, एमाले उम्मेदवार सुमित्रा भण्डारीको हकमा पनि अन्तरघात गरेको नेताहरू बताउँछन् । बरालले ४० मध्ये ३८ सांसदको मात्रै मत पाएका थिए भने भण्डारीले ३६ सांसदको मात्रै मत पाइन् । चारजना एमाले सांसदले आफ्नै उम्मेदवारलाई मतदान गरेनन् ।

रातो पाटी 

Views: