d

नयाँ खुलासा: स्थानीय बजारमा नियन्त्रण गुमाउदा गौरादह न.पा. लाई गम्भीर आर्थिक क्षति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन गौरादह नगर समितिले गौरादह नगरपालिकालाई १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय बजार व्यवस्थापन तथा व्यवसायीहरुको हकहितको संरक्षण लगायतका मागहरु समेट्दै ध्यानाकर्षण पत्र प्रस्तुत गरिएको हो । 

No description available.

नगर प्रमुख रोहित कुमार साहलाई ध्यानाकर्षण पत्र बुझाउदै संगठनले आफ्ना मातहतका बजारहरुमा नगरपालिकाले नियन्त्रण गर्न नसक्दा स्थानीय आयस्रोतमा गम्भीर क्षति भएको ठहर गरेको छ ।

बजार समितिहरु कानुन मिचेर हचुवाको भरमा गठन  गरिएको र ५ वर्ष अगाडी गठन भएका बजार समितिले खुलेआम आर्थिक कारोबार गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको उक्त संगठनको निष्कर्ष छ । 

 

No description available.

 'स्थानीय सरकारले ऐन कानुन र  कार्यविधि सम्म निर्माण नगरी स्थानीय बजारबाट प्राप्त हुने आय आर्जनको चरम दोहन गरिएको हाम्रो संगठनको ठहर छ।', ध्यानाकर्षण पत्र बुझाउदै व्यवसायीहरुले बताएका छन् । 

ध्यानाकर्षण पत्रमा उल्लेखित मागहरु नगरबासीको माग भएकोले आगामी आवधिक नगरसभामा यसलाई जस्ताको त्यस्तै पेस गर्न समेत व्यवसायीहरुले माग गरेका छन् । 

यस्तै आर्थिक ऐन निर्माण सम्म गर्न नसकेको र कानुन विपरीत गठन भएका बजार समितिले आफैं खाता खोलेर सहकारीमा जम्मा गर्ने गर्नु नगरपालिकाको गैरजिम्मेवारी पूर्ण कार्य भएको खुलासा गरिएको छ । 

प्रदेश र स्थानीय सरकारबाट करोडौं बजेट विनियोजित भइ निर्माण गरिएको गौरादह बजारका स्टलमा जथाभावी रूपमा रकम उठाइने गरेको फेला परेको समेत उनीहरुको आरोप छ । 

'हामीले लामो अध्ययन गर्यौं, बजार बनेपछि हिसाब समेत सार्वजनिक गरिएको छैन, यो कस्तो रबैया हो?', संगठन पदाधिकारी मोहन खनाल प्रश्न गर्छन् । 

माओवादी केन्द्रका गौरादह नगर अध्यक्ष डन्डी राज घिमिरे प्रश्न गर्छन्, 'फगेटिप बजारमा बसेर ढाकीमा खोर्सानी बेच्ने हजुरआमाले नगरपालिकालाई हाट कर बुझाउनु हुन्छ।', तर वहाँले तिरेको करको पैसालाई  आम्दानीमा बाधिदैन।'

घिमिरे अगाडी प्रश्न गर्छन , 'सुबिधा सम्पन्न स्टलमा बस्ने पसलेलाई नगरपालिकाले आफैले तोकेको हाट कर तिर्न अनिवार्य छैन, यो कस्तो नीति हो?'

 

 

संगठन द्वारा जारी ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै

 

श्रीमान् नगर प्रमुख ज्यू
गौरादह नगरपालिका, झापा
विषय: माग पत्र पेश सम्बन्धमा 

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन सम्पूर्ण नेपाली उद्योगी ब्यावसायीहरुको गौरवमय इतिहास बोकेको साझा संगठन हो । उद्योग ब्यापारको क्षेत्रमा देखिएका सबैखाले तमाम बिकृति बिसंगतिको बिरुद्धमा तथा उद्योगी ब्यावसायीको हक हितको पक्षमा हाम्रो संगठन निरन्तर क्रियाशिल छ । 
झापा जिल्लाको यस गौरादह नगरपालिकामा जनप्रतिनिधिहरु तथा नगरपालिकाको गैह्रजिम्मेवारीको कारण उद्योग ब्यापारको क्षेत्रमा उत्पन्न बेथिति र अपारदर्शिता प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । स्थानीय सरकारको अधिकार क्षेत्र तथा अख्तियारको दुरुपयोग गरी दलीय स्वार्थमा गौरादहको सार्बजनिक सम्पदा एवम् आन्तरिक श्रोत साधन माथि गरेको दोहन प्रति हाम्रो संगठन खेद ब्याक्त गर्दछ । 
गौरादह क्षेत्रकोे उद्योग ब्यापारको विकास, पारदर्शीता, शुसाशन तथा उद्योगी ब्यावसायीको हकहितको पक्षमा तपशिल अनुसारका आधारभुत मागहरु हाम्रो संगठन पेश गर्दछ । निम्नानुुसारका मागहरु अबिलम्ब पूरा गर्न गराउन जानकारी समेत गर्दछौं । 

हाम्रा मागहरु ः
१. गौरादह नगरपालिकाको अर्थ सम्बन्धि प्रस्तवलाई कार्यन्वयन गर्न बनेको ऐन ‘गौरादह नगरपालिकाको आर्थिक ऐन २०७८ ’ कार्यपालिकाले आफैं उल्लंघन गर्नु तथा आर्थिक बर्षको अर्धबार्षिक समय पुरा हुँदा पनि धेरैजसो बिषयहरु कार्यन्वयन नगरेको कारण नगरपालिकाको आन्तरिक आम्दानीमा भएको नकरात्मक असरको छानबिन गरी क्षतिपूर्ती कार्यपालिकाबाट असुल गरिनुपर्ने । 
२.गौरादह १ बजार हाताभित्र बर्षैदेखि फोहोमैला थुपारेको कारण ब्यावसायी र उपभोक्ताहरुको स्वास्थ्यमा तथा बजारको सौन्दर्यमा गम्भिर असर परिरहेको हुँदा सो फोहोरमैला तत्काल अन्यत्र ब्यवस्थापन गरियोस् । नागरिकको स्वास्थ्यमा खेलबाड नगरियोस् ।  
३. नगरसभाको निर्णय अर्थात ‘गौरादह नगरपालिकाको आर्थिक ऐन २०७८ ’ बिपरित गौरादहका हाटबजार ठेक्का खोल्दा गौरादह हाटबजार (टहरा बाहेक) भनेर खोल्नु रहस्यमय र अपारदर्शी छ । अबिलम्ब नगरसभाले पास गरेको ऐन अनुसार हुनेगरी सच्याइयोस । 
४. गौरादह नपा – १ गौरादह बजारका टहरा तथा सटरबाट आर्थिक बर्ष २०७४।०७५ देखि हाल सम्म बिभिन्न शीर्षकमा उठाईएको  रकम अबिलम्ब सार्बजनिक गरियोस् । 
५. स्थानीय सरकार संचालन ऐन २०७४ बिपरित टहरा तथा सटरहरुबाट उठाइएको रकम नगरपालिकाको आम्दानीमा समाबेश नगरिनु चरम अपारदर्शीता र अख्तियारको दुरुपयोग हो । सो सम्बन्धमा अबिलम्ब सार्बजनिक लेखा परीक्षण गरि चार आर्थिक बर्षको आम्दानी नगरपालिकाको आम्दानीमा समाबेश गरियोस् । 
६. नगरपालिकाको कार्यविधि बिपरित मनोमानी ढंगले जबरजस्त गठन गरिएका केही स्वघोषित बजार ब्यवस्थापन समितिहरु तत्काल भंग गरी कार्यबिधि बनाएर नगरपालिका भित्रका सबै बजारहरुमा बैधानिक बजार ब्यवस्थापन समितिहरु तत्काल गठन गरियोस् । 
७.ब्यावसाय कर तिर्ने उद्योगी ब्यवसायीहरुको क्षमता विकास तथा आस्रित परिवारको शिक्षा, स्वस्थ्य लगाएतका क्षेत्रमा स्थानीय सरकारले स्पष्ट कार्यक्रम अबिलम्ब लागु गरोस् । 
८. गौरादह बजार लगाएतका सबै बजारहरुमा सवारी साधनहरु पार्किङको उचित ब्यवस्था गरियोस् । 
९. कोभिडको कारण थिलथिलो भएका हामी उद्योगी ब्यवसायीहरुलाई स्थानीय सरकारको तर्फबाट उद्योग ब्यवसाय प्रवद्र्धनमा अनुभुत हुनेगरी पारदर्शी आर्थिक सहायता लगाएतका कार्यक्रमहरु ल्याइयोस् । स्थानीय सरकारले स्थानीय उद्योगी ब्यवसायीहरुलाई बजेट तथा नीति कार्यक्रममा पूर्ण बेवास्ता गरिनु आपत्तिजनक छ । 
१०. पर्याप्त पर्यटकीय सम्भावना बोकेका गौरादहका पोखरीहरु हालसम्म पनि अब्यवस्थित हुनुको कारण गौरादह पर्यटकीय गन्तब्य बन्ला र यहाँको ब्यापार ब्यवसायमा सकरात्मक प्रभाव पर्ला भन्ने आसा निरासामा परिणत हुँदै गएको छ । हालसम्म गौरादहका पोखरी पर्यटकीय क्षेत्र निर्माणमा भएको स्थानीय सरकारको लगानी सार्बजनिक गरी स्थानीय सरकारको प्रत्यक्ष मातहतमा पोखरी पर्यटकीय गन्तब्यको पारदर्शी कार्यक्रम अघिसारियोस् । 
११. गौरादहका कृषकहरुको घरखेति सम्म पुगेर उचित मूल्यमा किसानको उत्पादन खरिद गरि ब्यवसाय गर्ने ब्यवसायीहरुको पहिचान गरी प्रोत्साहन तथा सम्मान पुरस्कार लगाएतको ब्यवस्था गरियोस् । 
१२.राष्ट्रिय पुँजीको संरक्षणकर्ता स्थानीय उद्योगी र स्थानीय उत्पादन बिक्रेताहरुलाई उद्योग ब्यवसाय प्रवद्र्धनमा विशेष कार्यक्रमको घोषणा गरियोस् । 
१३.हाटबजारका दिन सडक पेटीमा ब्यवसाय गर्ने साना ब्यवसायीहरुलाई प्रोत्साहन गर्दै क्रमशः ब्यापार ब्यवसायको क्षेत्रमा उत्साहजनक ढंगले अघिबढ्ने वातावरण निर्माणमा स्थानीय सरकारको ध्यान पुगोस् । 
१४. ब्यापारी उद्योगीहरुबाट संकलित स्थानीय कर तथा राजस्व बाँडफाँड मार्फत प्राप्त बजेट मध्येबाट कोष स्थापना गरी स्थानीय सरकारले लागत साझेदारीमा ब्यवसाय प्रवद्र्धकालागि साना तथा खुद्र ब्यवसायीहरुलाई सहुलियतमा ऋण तथा अनुदानको ब्यवस्था गरियोस् ।  
 मिति ः २०७८।१०।१७
 
     .................                                                 .................
सचिव                                                अध्यक्ष

No description available.

Views: