d

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यमी गर्नेलाई सरकारले पुरस्कृत गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यमी गर्ने नेपाली कामदारलाई पुरस्कृत गर्ने भएको छ । स्वदेशमा भनेजस्तो काम नपाएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर त्यहाँ हासिल गरेको सीपअनुसारको काम गर्न आफ्नो देश फर्केका नेपाली कामदारलाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले पुरस्कृत गर्न लागेको हो ।

जसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्जजनिक सूचनामार्फत यस्तो पुरस्कारका लागि सहभागी हुन वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेकासँग आवेदन दिन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी देशको राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी १० फागुनभित्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

 

१० फागुनभित्र आवेदन दिनुपर्ने

मन्त्रालयका अनुसार यस्तो कार्यक्रममा सहभागी भई उत्कृष्ट व्यवसायी छनोटका लागि विदेशमा काम गरी आफ्नो देश फर्किएका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि–२०७६ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

यस कार्यक्रममा देशको सातवटै प्रदेशबाट न्यूनतम एक जना नछुट्नेगरी वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यमी गरिरहेका उत्कृष्ट व्यवसायी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले नगद एक लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले प्रतिव्यक्ति ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

सरकारको यस्तो प्रोत्साहनमूलक कार्यक्रममा सहभागी हुन इच्छुकलाई कामदार भिसामा विदेशमा बसेर न्यूनतम एक वर्ष विताएर फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको यस्तो पुरस्कार प्राप्त नगरेका व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको श्रम मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार यस कार्यक्रममा सहभागी हुनेले पुरस्कार दाबी गर्नका लागि आवेदन फारम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी भर्न सक्नेछन् । आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति र भिसा लागेको प्रमाणसहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि एवं यसअघि प्रदान गरिएको पुरस्कार नलिएको स्वघोषणा पेस गर्नुपर्नेछ ।

जसका लागि आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने मन्त्रालयले जानकारी गराएको छ । सो सूचनाको आधारमा प्राप्त आवेदनमध्ये उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्ति न्यूनीकरण गर्न सरकारले स्वदेश फर्किएर सफल उद्यम गर्ने व्यवसायीलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

यस्तो पुरस्कार तथा सम्मानबाट उनीहरूलाई स्वदेशमै केही गर्न तथा आयमूलक तथा रोजगारमूलक काममा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको अपेक्षा छ । प्राप्त आवेदनमध्ये रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको सफल उद्यमीलाई भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने मन्त्रालयले जानकारी गराएको छ । 

राजधानी दैनिकमा प्रकाशित खबर   

Views: