d

थापाले पार्टी छोडे पनि केहि असर गर्दैन -लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । आज बुधवारकाे कुराकानीमा अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदाे जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने बताए।

 ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आउँदाे जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ सङ्गठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’, अध्यक्ष लिङ्देनको भनाई रहिको छ।  

अध्यक्ष लिङ्देनले  निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान गरेका छन्  । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे । 

‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गर्नुभएको छ । थापाको यस निर्णयले उहाँकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै उहाँले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरेका छन्।
 
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्याे घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गरे। छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उहाँले स्पष्ट पारे । 

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय वहाँको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए। निवर्तमान अध्यक्ष थापाले हिजाे मङ्गलवार पार्टी परित्याग गरेकाे घाेषणा गरेका थिए।  उज्यालो अनलाइनको सहयोगमा।  

 

file photo

Views: