d

स्थानीय चुनावबारे निर्वाचन आयाेगको ब्रिफिंग यस्तो...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ, १ फागुन । आज निर्वाचन आयोगले आयोजित पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ । साथै आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘२०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट) मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ । नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित गरिएकाे छ ।’ आयोगका अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । जसले पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ । यो संख्या एक वर्षअघि अर्थात २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने थिए । संविधान तथा कानुनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने काम आयोगले गर्ने जनाएको छ ।

यस्तै निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचय पत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको आयोगले जनाएको छ । यस बीच फागुन ७ गते ‘निर्वाचन दिवस’ मनाउने कार्यक्रम तय गरेको बताए ।

Views: