d

सुर्खेतमा एमसिसीविरोधी आन्दोलनले उग्र रूप लियो, पार्टी कार्यालयहरुमा आगजनी पछि कर्फ्यु आदेश जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका ८ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभर झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । 

आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोक तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । 

‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी ग्यास हानेको छ,’ उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारी निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।’

पार्टी कार्यालयमा आगजनी
दिनभर प्रहरीसँग ठाउँठाउँमा झडप हुँदै जाँदा बेलुुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर–६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा(एमाले), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरूमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बोसिमल क्षेत्र तोकेर कर्फ्यु आदेश जारी गरिएको छ ।’ उनले भने, ‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरूमै आगजनी हुन थालेपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो ।’ 

स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

विप्लवको (नेपाल कम्युनिस्ट पार्टी), नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी(ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतले सोमबार बन्द आह्वान गरेका थिए । नयाँ पत्रिकामा खबर छ।  

 

image: naya patrika

Views: