d

मेयर पद कुनै हावादारी पद होइन, जसले जतिबेला चाहन्छ उतिनै बेला गएर बस्छु भन्न मिल्दैन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापाको गौरादह ३ मा स्थायी बसोबास गर्दै आउनुभएका योगराज दाहाल  नेकपा एमालेका एक प्रभावशाली नेता हुनुहुन्छ ।  विगत ४ दशक देखि निरन्तर रूपमा सकृय राजनीतिक जीवन व्यतीत गर्दै आउनु भएका दाहालले २०३६ सालमा अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । पार्टीका भात्री संगठनहरु र  बिभागहरुमा नेतृत्वदायी भुमिका खेल्दै राष्ट्रिय राजनीतिक संघर्षका विभिन्न चरणहरुमा आफुलाई फ्रन्टलिडिङ भुमिकामा प्रस्तुत गर्दै आउनुभएका एक इमान्दार र उर्जाशिल विचार भएका नेता मानिनु हुन्छ । पदिय हिसाबमा हाल प्रदेश सदस्य रहनुभएका दाहाल महाधिवेशन अगाडी प्रदेश १ क्षेत्र नं. ५ 'क' अध्यक्ष हुनुहुन्थ्यो । आम युवाहरूका माझ 'काका' उपाधिले चिनिनुहुने दाहाल युवाहरूलाई पुस्ता हस्तान्तरण गर्ने पार्टीको नीति प्रती अत्यन्तै उदार देखिनुहुन्छ। प्रस्तुत छ एमालेका लोकप्रिय नेता योगराज दाहाल र पर्दाफास सम्पादक सान नेपाल बीच वहाँकै गृह निवासमा भएको भलाकुसारीको सम्पादित अंश:

 

हाल के गर्दै हुनुहुन्छ?

स्थानीय चुनावको नजिक छौँ । पार्टीका साथिभाई संग भेटघाट, मिटिङ बैठकमानै व्यस्तता छ।

 

मेयरमा उठ्नु हुन्छ भन्ने हल्ला चल्दैछ नी?
पार्टीले निर्देशन दिएमा पछि हट्ने कुरै आउदैन नी !

 

पार्टीले टिकट दिदैन भन्ने लाग्छ?
मेयर जस्तो संवेदनशील पदको उम्मेद्वारको लागि पार्टीले औपचारिक निर्णय गर्नुपर्ने हुन्छ । यसको लागि बृहत बहसको आवश्यकता छ जस्तो लाग्छ। 

 

तपाईं मेयर पदको लागि किन उपयुक्त हुनुहुन्छ?

४० वर्ष देखि निरन्तर राजनीति गरेर आएको मान्छे हो । बिद्यायल, कलेज, युनिभर्सिटी हुँदै मुलुकमा देखिएका हरेक राजनीतिक उतारचढावमा अग्रपंक्तिमा रहेर भुमिका खेलिदै आइयो। मेयर पद कुनै हावादारी पद होइन, जसले जतिबेला चाहन्छ उतिनै बेला गएर बस्ने? 

 

कस्तो हुनुपर्छ मेयर?
हेर्नुस्,हामी लोकतन्त्रमा विश्वास गर्छौ । हामी संग दोश्रो बृहत जनआन्दोलनबाट प्राप्त मौलिक संविधान छ। ऐन कानुनहरु छन् । प्रचलित ऐन कानुन पढेको, बुझेको, अध्ययनशिल र दिगो बिकासको बारेमा अब्बल नलेज भएको व्यक्तिले मेयर पद सम्हाल्नु उचित हुन्छ। तपाईंलाई म यति नै भन्छु स्थानीय सरकार संचालन ऐनको राम्रोसँग अध्ययन नगर्नाले र यसको उचित प्रयोगमा ध्यान नपुग्दा आम जटिलताहरु निम्तिएका हुन् । 

 

ठूलो मात्रामा बजेट हुँदाहुँदै पनि गौरादह नगरपालिकाले बिकास निर्माणमा खास फड्को मार्न सकेको पाइदैन नी?

मैले अघिनै भनिसकेको छु । राज्यले लागुगरेका ऐन कानुनको परिधिभित्र बस्न सक्नुपर्यो। लहडमा लागेर चुनावी मैदानमा निस्किने अनि करोडौं खर्च गरेर चुनाव जित्ने? निती नियम र आवश्यकता के हो केही थाहा छैन। व्यक्तिहरु आफ्नो पद र प्रतिष्ठामा मात्र केन्द्रित छन् । नगरबासीले गम्भीरता पुर्वक सोच्नु जरुरी देखिन्छ। 

 

दोषी कसलाई देख्नुहुन्छ? 
पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थ पूरा गर्न लाग्ने म पनि दोषी, तपाईं पनि दोषी। हामी सबै दोषीको भागिदार छौँ भन्ने लाग्छ। 

 

गौरादहमा एमालेबाट मेयरको सम्भावित उम्मेद्वारको नाम भनिदिनुस् न ?

यो विषयमा मैले आफुले अलिक जिम्मेवारी लिएर बहस गर्नुपर्छ जस्तो लाग्छ। अहिले सम्म पार्टी भित्र मेयरमा आकांक्षा राख्नुहुने ४/५ जना देखिनु भएको छ । 

 

कसलाई रोज्ने त? 
मलाई रोजे भै हाल्यो नी......?

किन?
म योग्य छु ।

कसरी ?

पहिलो कुरा त पार्टीमा लागेका साथीभाइ मध्ये म करिबकरिब फ्रन्ट लिडिङमै छु भन्ने लाग्छ ।

पार्टीका प्रभावशाली नेता, झापा जिल्ला अध्यक्षको समेत नाम चर्चामा देखिएको छ । के यो सत्य हो भ्रम हो? 

यो सत्य हो वहाँको नाम चर्चामा छ। 

वहाँ त २ पटक सभासद भैसक्नु भएको व्यक्ति हो। हाल जिल्ला नेतृत्वमा पनि हुनुहुन्छ । दिपक जी नै किन चर्चामा ल्याउनु भयो ?

मैले चर्चामा ल्याएको भन्ने होइन । पार्टीका कार्यकर्ता र वहाँका शुभचिन्तकबाट आयो होला तर पनि निर्णयमा नपुगेसम्म बोल्न मिल्दैन । 

दिपक कार्कीको नाम चर्चामा छ भन्नुहुन्छ । तपाई पनि आकांक्षी होईन र?

गौरादहको राजनीतिमा दिपक जी पछाडी मेरोनै नाम आउँछ। हामीले समकालीन राजनीति गरेको भएता पनि हामी २ जना मध्ये वहाँ पहिलो र म दोश्रो दर्जामा छौँ भन्ने कुरा बिर्सनु भएन । 

 

छत्रपती सुवेदीको नाम समेत चर्चामा सुनिन्छ नी? 

मैले तपाईंकै मिडिया पर्दाफास बाटै थाहा पाएको । 

 

वहाँको सम्भावना के छ? 

पार्टी भित्र योगदानको कुरा आउँछ ।  छत्रपती जी संगठन भित्र एक अब्बल र अनुभवी व्यक्ति मध्येमै पर्नुहुन्छ। वहाँ जत्तिको व्यक्तिले अपेक्षा राख्नु अस्वाभाविक होइन । छत्रपती जी मात्र होइन अरु साथी भाइ पनि आकांक्षी हुनुहुन्छ । कसैले म नेतृत्व गर्छु भनेर अगाडी आउनुनै प्रजातन्त्रको सुन्दर पक्ष हो । यद्यपि पार्टीले निर्णय नगर्दा सम्म मेयरको टिकट कसले पाउला भन्ने विषय चर्चाको लागि मात्र रहन्छ। 

 

उपमेयरमा तपाईं आफैंले अम्बिका भण्डारीको नाम प्रस्ताव गर्नु भएको छ भन्ने सुनिन्छ नी? 

मैले प्रस्ताव गरेको भन्ने कुराको कुनै आधार छैन । महिला नेतृत्वको खोजी हुँदा वहाँको पनि नाम आयो होला । 

 

उपमेयरको दावेदार को को हुनुहुन्छ त? 

लिला कट्टेल, मिना ढकाल, अम्बिका भण्डारी आदि नामहरु चर्चामा छन् । तर चर्चामा आएकै अनुहारहरु उचित हुन् भन्न मिल्दैन । पार्टीले भोलि के निर्णय गर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ । 

 

लिला कट्टेल कि अम्बिका भण्डारी?
 गौरादहको भूगोल ठूलो छ । भूगोल नमिलाई कुनैपनी निर्णय गर्नु हुदैन । 

 

तपाईंहरु कुन पार्टी संग राजनीतिक समीकरण गर्दै हुनुहुन्छ?

टुंगो छैन ।

 

केन्द्रिय गठबन्धन जस्तै गौरादहमा पनि गठबन्धन देखियो भने के गर्नुहुन्छ?

यसमा हामीलाई कुनै आपत्ति रहदैन। त्यो वहाँहरुको कुरा हो । समीकरण गर्नै पर्ने भएमा राप्रपा संग हुनसक्छ।

 

राप्रपाले त २/३ वटा वडा अध्यक्ष र मेयर दावी गर्ला नी?

मेयर र वडा अध्यक्ष दिन त नसकिएला सदस्य सम्म दिएर मिलाउनु पर्छ भन्ने लाग्छ । 

 

गौरादहमा राप्रपाको राम्रै संगठन देखिदैछ । वहाँहरुले मान्नु होला त ?

राजनीतिक समीकरण भन्नेकुरा फराकिलो हुन्छ। आपसी सहमतिमा टुंगो लाग्ला भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ ।

 

अन्त्यमा केहि भन्नु छ ?
तपाईंको लोकप्रिय मिडिया पर्दाफास डट कममा आफ्ना अभियक्ति राख्ने मौका दिनु भयो।  यसको लागि हार्दिक आभार प्रकट गर्दछु।  धन्यवाद ।  

Views: