d

राजालाई गाली गरेर राजनीतिमा उदाउने सपना नदेखे हुन्छ : राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन्। 


ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताएका हुन्। 


लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन्।

कांग्रेस, एमाले र माओवादीको आलोचना गरेका उनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल बनाउने काम भइरहेको उल्लेख गरे। 


विचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको उनको भनाइ थियो।

न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको बताएका छन्।

'नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ,' जीवनको पहिलो मताधिकार गर्न लागेका नवयुवकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने।

उनले राजालाई गाली गरेका भरमा राजनीति टिकाउने दिन गएका पनि  बताए। 

'राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए', अध्यक्ष लिङ्देनले भने, 'विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुन्छ। राजालाई गाली गरेर राजनीति धान्ने दिन गए।'

Views: