d

रुसी कब्जामा रहेको शहर खेर्सनमा स्थानीय वासिन्दा द्वारा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुसले कब्जामा लिएको युक्रेनको दक्षिणी शहर खेर्सनमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।

रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दाले सोमबार प्रदर्शन गरेका हुन्। तर प्रदर्शनकारीमाथि रुसी सुरक्षाकर्मीले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रुसी सैनिकले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाउनुका साथै बिस्फोट पनि गराएको देखिएको छ ।

घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । मार्च ३ मा रुसी सैनिकले खेर्सन शहर कब्जा गरेका हुन् । त्यसयता त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच अमेरिकाले युक्रेन युद्धमा रुसले गरेका युद्ध अपराधका प्रमाणहरु संकलन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।

उसले बाल अस्पताल, प्रसुति वार्ड, विद्यालय, संग्राहलय, सार्वजनिक स्थल, आवासीय क्षेत्र तथा आवासीय भवनालाई निशाना बनाएको छ ।


मारिपोल शहरमा रुसले गरेको आक्रमणका कारण आवासीय क्षेत्र गम्भीर रुपमा क्षतिग्रस्त बनेको छ । तस्बिर : गेट्टी इमेज
युक्रेनले लगातार रुसले युद्ध अपराध गरिरहेको बताउँदै आएको छ । केही दिन पहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका थिए ।

मार्च १६ बाइडेनले सो टिप्पणी गरेयता पुटिनमाथि अन्तर्राष्ट्रिय स्तरमा युद्ध अपराधको आरोप लगाउने क्रम बढेको छ । बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन र र जोन मेजरले अनुसन्धानका लागि नयाँ अन्तर्राष्ट्रिय फौजदारी अदालत खडा गर्नु पर्ने बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी नेतालाई अनुसन्धानको दायरामा ल्याउने आफूहरु सक्रिय रुपमा लागि परेको बताएको छ । रुसी सैनिकले युक्रेनमा युद्ध अपराध गरिरहेको स्पष्ट देखिएको र त्यसका प्रमाणहरु संकलनको काम भइरहेको पेन्टागनले जनाएको छ ।

Views: