d

गौरादहको मेयरमा एमालेको तर्फबाट मेरो पनि आकांक्षा रहेको छ - योगराज दाहाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको दक्षिण पश्चिम भेगमा रहेको ५ गाविस गाभेर बनेको नगरपालिका हो गौरादह नगरपालिका ।  यस नगरलाई मुख्य राजमार्गबाट सिंगल लेनको एकमात्र साँघुरो पाडाजुंगी-गौरिगंजले जोडेको  छ।  यहाँका अधिकांश नगरवासीहरु कृषिमा आश्रित छन् र विकासको दृष्टिकोणले पिछडिएको नगरपालिका भित्र पर्छ।  भौगोलिक रुपमा फराकिलो क्षेत्र ओगटेको यस नगरपालिकामा पक्की सडकहरु नाम मात्रका रहेको पाइन्छ।  पछिल्ल्लो ५ वर्षमा स-साना पुल र कल्भर्टहरु निर्माण सम्पन्न गरेको भनिएता पनि सडकको स्तरोन्नति  खासै भएको पाइदैन।  ४ वर्ष अगाडी तत्कालीन अन्तरिक मामिला तथा कानुन मन्त्री  हिक्मत कुमार कार्कीले सिलान्यास गरेको डिपु-डिम्माउठा सडक अहिले सम्म निर्माणाधीन अवस्थामै रहेको छ भने डिपु बाट बजार  हुँदै सोलामारी- बैगुन्धुरा बाट कोरोबारी सम्म जोड्ने पक्की सडकको अवस्था पछिल्लो ५ वर्ष देखि निर्माण ठप्प अवस्थामा रहेको  देखिन्छ ।  स्थानिय जनप्रतिनिधिहरु नगर प्रवेश गरेपछि विकासको मूल फुट्ला भन्ने आशामा रहेका नगरबासीहरुले ५ वर्ष भित्रको प्रगतिलाई खासै महत्वको रुपमा लिएको पाइदैन।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको गाडीमा बम विस्फोट, धनराज राजवंशी मृत्यु प्रकरणमा नगरपालिकाको भौतिक सम्पती तोडफोड, बाख्रा काण्ड, विपन्न आवासको लागि भनेर ल्याइएको जस्तापाता वडा कार्यालयले बेचेको काण्ड, वडाअध्यक्षले जग्गा किर्ते गरि वेचेको प्रकरण, विपन्नको लागी भनेर खरिद गरिएको चामल गाडिएको प्रकरण, सरकारी मोटरसाइकलमा निजि नक्कली नम्बर प्लेट हालेर जनप्रतिनिधिले नै प्रयोग गरेको रहस्यको पर्दाफास भएको काण्ड, वडा कार्यालय भवन मापदण्ड विपरित र निर्माण सम्पन्न  नहुदै चुहिन थालेको समाचार,  आफ्नो घर र जमिन जोगाउन सडकमा अनधिकृत डिभाइडर राखिनु जस्ता चर्चित घटनाक्रमको एकपछि अर्को तथ्य बाहिरिएको घटनाले यस नगरपालिका र सिंगो नगरवासीले लज्जित हुनुपरेको तथ्य घाम झैं छर्लंग छ।  

अघिल्लो पटक नगर कार्यपालिकामा अनुभवको कमीले गर्दा केही समस्या सृजना भएको कुरालाई मनन गर्दै आगामी दिनमा सुधार गरेर लाने रणनीति सहित अघि बढ़िएको एमाले नेताहरुले बताउदै आएका छन् । 

जे होस् गौरादहमा जनप्रतिनिधिहरुले ५ वर्ष पुरा गरिसकेका छन् र आगामी बैशाख ३० गते नयाँ निर्वाचनको लागि बहस समेत शुरु भईसकेको छ।  राजनीतिक दलहरु निर्वाचनमुखी कार्यक्रमहरु बोकेर मतदाताको घर दैलोमा पुग्न थालिसकेका छन्।  यो पटकको नगरप्रमुख बन्ने मौका कसलाई प्राप्त होला भन्ने जोड घटाउमा चर्चा चल्दै गर्दा मेयर पदमा पत्रकार सान नेपालले पहिलो पटक गत भदौमा आफु मेयरपदको आकांक्षी रहेको स्टाटस सार्वजनिक गरेका थिए।  

मेयरकै आकांक्षीको रुपमा चर्चामा देखिने गरेका मध्ये नेकपा एमालेबाट जिल्ला अध्यक्ष दिपक कार्की, छत्रपति सुवेदी, योगराज दाहाल नगेन्द्र भण्डारी र  अम्बर सिवाकोटीको  नाम चर्चामा देखिन्छ भने नेपाली कांग्रेसबाट वर्तमान मेयर रोहित कुमार साह,  प्रदेश सभा सभापति जीवन कुमार राई तथा  पछिल्लो २४ घण्टा देखि  नगर सभापति यादबराज सेढाईको समेत  नामले चर्चा पाएको देखिन्छ।  राप्रपाबाट पत्रकार सान नेपाल बाहेक पुर्व नगर अध्यक्ष खेमराज तिम्सिनाको र केन्द्रिय सदस्य अम्बर विष्टको नाम चर्चामा रहेको छ।   

निर्वाचनकै विषयमा नेकपा एमालेका नेता योगराज दाहाल संग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।  

         
गौरादहमा विकास किन भएन?

गौरादहको बिकासमा स्थानिय सरकारको समग्र अवधारणामा कमि भएर भनेजस्तो, सोचेजस्तो बिकास नभएको हो । नगरपालिकाले ५ वर्ष बितिसक्दा पनि नगर प्रोफाइल बनाउन सकेन जसले गर्दा तत्कालीन कामलाई मात्र ध्यान दिइयो । यदि नगर प्रोफाइल बनाएको भए नगर भित्रको पिक्चर देखिन्थ्यो र तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन योजना छनौटमा ध्यान पुग्न सक्थ्यो । 

पोखरी पनि अलपत्रनै देखिन्छ नी ?

गौरादहको पोखरी गौरादह नगरको बहुमुल्य र आकर्षणको ऐतिहासिक प्राकृतिक सम्पदा हो । यसलाई पर्यटन स्थलको रूपमा विकास गराउन माननीय दिपक कार्कीको अध्यक्षतामा समिति बनाई डिपिआर बिस्तृत योजनाका साथ स्थानीय, प्रदेश र केन्द्रमा पेश गरिएको छ । यसमा पनि स्थानीय जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुनुपर्नेमा नगरपालिकाले आवश्यक पहुँच र भुमिका निर्वाह गरिरहेको छैन । त्यही भएर पोखरीको बिकास आशालाग्दो भएको छैन।

गौरादहका सडकहरुको अवस्था कस्तो देख्नु भएको छ?

मैले माथिनै भनिसकेको छु । सडकको अवस्था दीर्घकालीन सोच नभई तत्कालीन अवस्थालाई मात्र ध्यान दिएर ग्राभेल मात्र हुँदै आएका छन् । ग्रामीण सडक र स्थायित्वको निर्माणको लागि दुरदर्शिता अपनाई योजना बनाउनु पर्छ । साथै नगर चक्रपथको लागि समेत योजना बनाइनु पर्छ । 

 

यहाँको कृषि क्षेत्रमा सुधार आउन नसकेको कारण के देख्नुहुन्छ ?

नेपाल कृषिप्रधान देश हुँदै हो । त्यहाँ माथी गौरादह नगरपालिकामा सिमित ठाउँमा वस्ती विकास भईरहेपनि अधिकांश भूगोलमा खेती नै मुख्य हो । यसमा कृषि उत्पादनको लागि किसानलाई सेवासुविधा र सब्सिडी उपलब्ध गराएर कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गर्नुपर्छ र उत्पादन भएका वस्तुहरु उचित व्यवस्थापन गर्दै मुल्य निर्धारण गरियो भने राम्रो हुन्छ। केहि समय देखि बिजुलीमा राहत दिएको कुरा छ त्यसलाई कायम गर्दै अझै सहुलियतका प्याकेज किसानहरुका बिच पुर्याउनु जरुरी छ । 

स्थानिय तहमा  भ्रस्टाचार अनियन्त्रित छ भन्छन् नी ? 

स्थानीय क्षेत्रमा भ्रष्टाचार बढेको कुरालाई नकार्न मिल्दैन तर स्थानीय मात्र होईन प्रदेश र केन्द्रमा पनि भ्रष्टाचार भएका कुराहरु आएका छन् । तर हामीले आफू बसेको ठाउँलाई सफा बनाउनु आवस्यक छ। कर्मचारीलाई स्थानीय सरकार वा पालिकामा रहेको जनप्रतिनिधि ले ठोस नीति नियम बनाई कर्मचारीलाई जवाफदेही, पारदर्शी र मित्तवेयी बनाउनु पर्छ तर जनप्रतिनिधि उदाहरणीय र विश्वासिलो हुनु उतिनै जरुरी छ। जनप्रतिनिधि इमानदार, जनमुखी, जवाफदेही र पारदर्शी भए भने भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्ने हुदैन । 

 

तपाईंले मेयरमा उम्मदेवारी दिने भन्ने हल्ला चुलिदै गएको छ, यसको सम्भावना कति छ ?

मेरो मेयरको उम्मेद्वारीको कुरा ठूलो कुरै होईन । किनकि मेरो राजनीतिको अनवरत यात्रा ४० वर्ष देखि रहि आएको छ। २०४८ साल देखि महत्त्वपूर्ण भुमिका खेल्दै आएको र २०५४ साल देखि स्थानीय भूगोलमा कमिटि प्रमुखको नेतृत्व गर्दै जस्तोसुकै अप्ठ्यारो, घुम्ती मोडहरुमा कहिँ कतै नडगमगाई नेकपा एमालेको सान मान र उन्नती प्रगतिको लागि स्थानीय जनतामा सरोकारका विषयहरुमा जनप्रतिनिधि देखि पार्टीपंक्तिलाई परिचालन गर्दै आएको छु। मलाई पार्टीले जुन भुमिका दियो त्यसमा आफू इमानदार भई सफलता हासिल गर्दै आएको छु। मात्रै जनप्रतिनिधिको भुमिका निर्वाह गर्न पाएको छैन । यसपटक पार्टीले मलाई सम्झने छ भन्ने लागेको छ । उक्त जिम्मेवारी पाएँ भने इमानदारपुर्वक जनतको सेवा गर्नेछु । 

 

तपाईंलाई मेयरको योग्य उम्मेदवार भन्ने आधारहरु के हुन सक्छन् ?

योग्य उम्मेद्वार बन्ने आधार भनेको इमानदारीता, पारदर्शिता, कार्यकुशलता र स्थानीय ठाउँको बिकासमा जनताको भावना अनुसार दुरदर्शिता राख्दै विकास निर्माणमा लाग्नु हो र त्यसमा सक्षम छु भनेर नै हो । 

पार्टीले टिकेट दिएन भने के गर्नुहुन्छ ?
पार्टीले टिकट दिएन भन्ने कुरै आउदैन । मेरो क्षमता, बुद्धि, विवेक, योगदान, कृयाशिलता, इमानदारीता, जिम्मेवारी पालनालाई मुल्यांकन गर्ने हो भने नदिने कुरो आउदैन । यदि त्यसो भएन भने म भन्दा अझ योग्य कोहि रहेछ भन्ने सम्झनुपर्छ । तर जित्ने उम्मेद्वार हुनु जरुरी छ । अनि जितेर गएपछि गौरादह नगरको समग्र विकास र जनताको हितमा काम गर्न सक्नुपर्छ । इतिहासमा नाम लेख्ने वा फोटो टास्ने मात्र र जनताको समस्या बाट भाग्ने नेता मेयर बनेर केही हुदैन । 

गौरादह नगरपालिकामा एमालेको मुख्य प्रतिस्पर्धा को संग हुन्छ ?
हाम्रो नगरमा नेपाली कांग्रेस संग मुख्य प्रतिस्पर्धा हुन्छ। अरुले गठबन्धन बनाएर चुनावमा एमाले संग प्रतिस्पर्धा गर्दैछन् तर एमाले एक्लै त्यसको सामना गर्न सक्षम छ।  

त्यसो भए तपाईं पनि मा. दिपक कार्की लाई नै मेयरको उम्मेद्वार समर्थन गर्ने मनस्थितिमा हुनुहुन्छ भन्ने बुझ्दा हुन्छ होइन त ?
वहाँ जिल्ला अध्यक्ष हुनुहुन्छ।  मेरो आदरणीय नेता पनि हो।  वहाँले यो पटक मलाई मेयरको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ।  

 

जिल्ला अध्यक्षले नै गौरादह नगरको मेयरमा उम्मेद्वारी दिने हल्ला छ नी ?

पार्टीको जिल्ला अध्यक्ष दिपक कार्की मेयरमा उठ्ने हल्ला मैले सुनेको छु । दिपक कार्की २०४३ साल देखि अनवरत रूपमा जनप्रतिनिधि भई जनताको दुख सुखमा एकाकार हुँदै विकास निर्माणमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएको हो । अझ भन्ने हो भने  वहाँले यश ठाउँको भूगोल र प्राथमिकताको क्षेत्रलाई नजीक बाट चिन्नु भएको छ। तर वहाँ दिपक कार्की मेयर बन्न आउनुभनेको यस ठाउँको उन्नति र जनताको आवस्यकताले मात्र आउने हो, प्रतिस्पर्धा गर्न आउने होईन । पार्टीले आवस्यकता सम्झियो भने वहाँ आउनुहुन्छ । 

 

तपाईंले स्थानिय संसदीय क्षेत्र र  नगर सम्हालेर वहाँ माननीय ज्यू लाई  केन्द्र वा संघीय क्षेत्रको  जिम्मेवारी  तिर जाँदा तपाईंहरुलाई कहाँ नेर अप्ठ्यारों हुन्छ ?

 अप्ठ्यारों भन्ने हूँदै हुँदैन । यस विषयमा त्यति धेरै भनी रहनु नपर्ला किनकी दिपक कार्की र म हरेक मोर्चामा लामो समयदेखी काँधमा काँध साथमा साथ हातमा हात मिलाउदै एमाले बिरुद्ध आउने सबै प्रकारका अवरोधहरुलाई पन्छाउदै  एमालेको शक्ति सामर्थ्य ,सान मान, प्रतिष्ठा कायम गर्दै यहाँसम्म आएका हौँ, तसर्थ यसपालीको स्थानिय चुनावमा वहाँले  मलाई साथ सहयोग समर्थन गर्नुहुन्छ भन्ने लागेको छ । हामी एमाले बलियो बनाउनु पर्छ भन्ने आन्दोलनको  सहयात्री भएपनि  राजनितिमा वहाँ मेरो  नेता हो र गौरादहकै अभिभावक पनि हो अनि नेकपा एमालेको झापाकै नेता पनि भएकोले वहाँ नगर प्रमुखमा उम्मेदवारी दिनेकुरा स्थानिय ठाउँको राजनीतिक शक्तिसन्तुलन अनि एमाले भित्रको अवस्था र समग्र गौरादहवासिको इच्छा चाहना र पार्टीको आवश्यकताको  सिद्धान्त सम्झियो भने मात्र वहाँले  नगरको नेतृत्व समाल्ने अवस्था आउँछ नत्र वहाँ हापझाप अनि आफै भित्र प्रतिस्पर्धा गरिगरि आउनु पर्ने अवस्था नहोला।   तर मेरो सवालमा म पार्टीको इमान्दार सिपाही भएर बिगत ३५ वर्ष देखि  पार्टीको हितमा निरन्तर र अनवरत रुपमा लागि रहेको मान्छे हु।   मैले ०४८ देखि यसै ठाउमा संगठन  निर्माणको जिम्मेवारी सम्हाल्दै र ०५४ साल देखि स्थानिय ठाउँमा पार्टीको  प्रमुख भएर नेतृत्व सम्माल्दै आएर जिम्मेवारीलाई इमान्दार भै कुसलता पुर्वक काम गरें।   तसर्थ अब संसदीय क्षेत्रको  जिम्मेवारी पाएँ भने इमान्दार भै जनताको सेवक भै काम गर्ने छु।  म भ्रस्टाचार ,दुराचार ,अपचलन, शक्ति र पदको दुरुपयोग गर्ने छैन र हुन पनि दिने छैन ,सामाजिक न्याय ,कानुनको परिपालना ,जवाफदेहिता ,पारदर्शीता र बिकास निर्माणमा आवश्यकताको नीति अवलम्बन गर्ने छु , सत्यसंग  झुक्ने छु असत्य संग लड्ने तसर्थ मलाई पार्टीले मेरो योगदानको मुल्यांकन गरि जिम्मेवारी दिने छ र दिपक कार्की लगायत अरु सबै साथीहरुले समर्थन गर्नुहुनेछ भन्ने विश्वास छ।  

चुनावमा एमालेले अरु कुनै  दल संग तालमेल र सहकार्य गर्ने अवस्था छ की ?

यस  विषयमा केन्द्रिय स्ततरमा  सत्ता सन्चलनका  मुख्य  शक्ति बाहेकका  अन्य शक्ति स्थानिय अवस्थाको स्थितीको आकलन गरि तालमेल हुन सक्छ। तर अहिलेको परिस्थीतिमा स्थानिय ठाउमा राप्रपा संग चुनावी तालमेल र सहकार्य हुन सक्छ ।तालमेल र सहकार्यगर्दा शक्ति , सामर्थ र जनधारको ठोस मुल्यांकन साथै यथार्थ बिश्लेशणको आधारमा सहकार्य र चुनाबी तालमेलको लागि एमाले खुल्ला रहनेछ !

गौरादहमा गतसाल भएको चामल पुरेको काण्ड बारे के भन्नुहुन्छ ?

चामल काण्ड नगरपालिकामा नेतृत्व गर्ने जनप्रतिनिधिको अकर्मण्यता, अदुरदर्शिता, राहत वितरणमा क्षेत्रीयता, जातीयता र शक्तिको गलत बुझाइबाट निक्लेको परिघटना हो । यसमा मुख्य दोषी नगरको नेतृत्व सम्हाल्ने जनप्रतिनिधि हो र अन्य सहायक हुन्  भन्ने लाग्छ ।

नगर भित्र अन्यदलको अवस्था कस्तो देख्नुहुन्छ ?

 अहिले रास्ट्रीय राजनितिमा देखिएको शक्ति सन्तुलनको अवस्थालाई हेर्दा र बिगतको स्थानिय निर्वाचनलाइ निहाल्दा गौरादह नगर भित्र मुख्यत ४ राजनिटिक पार्टीहरु बढी कृयाशिल रहेको देखिन्छ।   पहिलो शक्ति फेरि पनि नेकपा एमालेनै हो , जो बिगत ०४३ साल देखि अनवरत रुपमा आफ्नो कृयाशिलता देखाउदै स्थानिय ठाउँको समग्र बिकास निर्माण ,सामाजिक न्याय र राजनितिक साथै समाज परिवर्तनको  हरेक आन्दोलनमा सशक्त भुमिका निर्वाह गर्दै आएको हो र यो न्याय समानता र देश जनताको हित गर्दै देशभक्त ,प्रगतिशिल ,जनवादी राष्ट्रिय पुँजीपति  र  सर्वहारा श्रमजिवी मेहनतकस जनता र  वामपन्थी बिचार वोक्ने शक्तिहरुको प्रतिनिधित्व गर्दै एतिहासिक अभिभारा पुरागर्ने उदेश्य बोकेर बिगत ७० सालदेखी राष्ट्रिय राजनितिमा नेतृत्वदायी  भुमिका निर्वाह गर्दै आएको हुनाले यो एतिहासिक सशक्त  पार्टी भएको कुरामा धेरै भनी रहनु नपर्ला।   अर्को दोस्रो मुख्य शक्ति भनेको नेपाली काङ्ग्रेस हो जो  प्रजातन्त्र वा लोकतन्त्रको अन्तिम उदेश्य बोकेर बिगत ७५ वर्ष देखि  निजिकरण उदारिकरणको नीति अगालेको दलाल पुँजीपतिहरुको  प्रतिनिधित्व गर्दै  सामाजिक सुधारको वा यथास्थितिलाई नै सर्वमान्य ठान्ने न्याय समानता र समाजवाद बिमुख नीति अगालेको एतिहासिक अभिभारा पुरागर्न निरन्तर क्रियाशील रहेको पार्टी हो नेपाली काङ्ग्रेस । अर्को नेकपा माओवादी केन्द्र तेस्रो राजनितीक शक्तिहो ,जो परिवर्तनको नाममा हत्या हिँसाको  सहारा लिएर उदाएको हेर्दा उसको एक समयमा आस ,त्रास,  बनवासको धङधङीबाट आर्जित शक्ति क्रमिक रुपमा क्षीण वा कमजोर हुँदै गरे
पनि राष्ट्रिय  राजनितिको कारण अहिले पनि स्थानिय ठाउँमा तेस्रो शक्तिको रुपमा  आफुलाइ देखाउने जमर्को गर्दैछ तर पछिल्लो अवस्था हेर्दा राप्रपा र माओवादी केन्द्र हाराहारिको शक्तिमा रहेको होकि भन्ने आकलन रहेको छ।   

स्थानिय चुनावमा हारजित धेरै अन्तरमा हुदैन होलानी?

 बिगतको स्थानिय चुनावको आधारबाट हेर्दा र गठबन्धनको वर्तमान अवस्थालाइ विश्लेषण गर्दा जित हारको अन्तर कमै हुन सक्छ ,त्यस्तो अवस्था हुन सक्छ तर एमाले इतरका सबै पार्टीहरु महागठबन्धन बनाएर आए पनि नेकपा एमाले एक्लै सामना गर्न सक्षम छ।  

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आउंदै गरेको नयाँ वर्षको अवसरमा सम्पुर्ण नगरबासी महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आउदै गरेको स्थानीय निर्वाचनमा राम्रो पार्टी र राम्रा उम्मेद्वारलाई भोट हालेर नगरको विकासमा ठोस योगदान पुर्याउनु हुनेछ भन्ने आशा एवम् विश्वास व्यक्त गर्न चाहन्छु । यस लोकप्रिय सञ्चार माध्यम पर्दाफास डट कम मा आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा पर्दाफास टिम प्रति हार्दिक आभार प्रकट गर्दछु ।

Views: