d

काठमाडौंमा राप्रपाले चैत २५ गते शक्ति प्रदर्शन गर्दै, लाखौँ उतार्ने यस्तो छ तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले यहि चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंमा आम सभा गर्न लागेको हो ।


 चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउनका लागि पार्टीका नेता र कार्यकर्ता तयारीमा जुटेका बताइएको छ।  सोही विषयमा पार्टीको बागमती प्रदेश समितिले मंगलबार काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीको बारे समीक्षा गरेको छ । बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। बैठकमा पार्टी उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारीबारे बैठकलाई जानकारी गराएका थिए।  

देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले बैशाख ९ गतेसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता श्रेष्ठले बताए ।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठको दाबी छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौ,ललितपुर र भक्तपुरका पार्टी अध्यक्षहरुले आमसभाका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारी बारे पनि बैठकमा जानकारी गराएका थिए ।

काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। काठमाडौं उपत्यका बाहिरका आमसभामा राप्रपाले बिभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई पनि राप्रपामा प्रवेश गराएको छ ।

Views: