d

इमानसिंह तामाङले जनाए वडाध्यक्षको उम्मेद्वारी छनौटमा असन्तुष्टी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेसबाट वडा अध्यक्षका एक आकांक्षी  नेता इमानसिंह तामाङले आसन्न स्थानीय निर्वाचनमा गौरादह वडा नं. १ बाट वडाध्यक्षको उम्मेद्वार हुन आफू उपयुक्त अनुहार भएको   दावी गरेका छन् । वडा सभापति इन्द्र गौतमको नाम सर्वसम्मत गर्ने बहानामा लोकतान्त्रिक पद्धतिको अवमूल्यन गर्दै उम्मेद्वार घोषणा गरिएको भन्दै तामाङले आफू अब्बल र योग्य व्यक्ति भएको दावी गरेका हुन् । 

यस वडामा इन्द्र गौतम, इमानसिंह तामाङ, सन्जीव कार्की, सीता भण्डारी लगायत ४/५ जनाले उम्मेद्वारी दावी गरेका थिए । 

शुक्रबार सम्पन्न वडा भेलाले इन्द्र गौतमलाई सर्वसम्मत उम्मेद्वार भनेता पनि इमानसिंह तामाङ, सीता भन्डारी र सन्जीव कार्कीले असहमति प्रकट गरेको तामाङले जिकिर गरेका हुन् । 

सर्वसम्मत घोषणा गरिएको भनिएका गौतम वडा सभापति समेत हुन् । 

गत निर्वाचनमा वडाध्यक्षकै उम्मेद्वार रहेका गौतम एमालेका नगेन्द्र भन्डारी संग करिब १५० मतको अन्तरले पराजित भएका थिए । 

'हामीलाई इन्द्र गौतमनै उम्मेद्वार बन्दा केही फरक पर्ने होईन, कुरा विधि र पद्धतिको हो । नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रमा सबैको मर्म र भावनालाई बुझ्नुपर्ने हुन्छ।', पुर्व जिल्ला सदस्य समेत रहेका तामाङले पर्दाफास संग भने ।

उनले उम्मेद्वारी छनौट गर्दा सामान्य मुल्य मान्यतालाई समेत अंगिकार नगरी एकलौटी ढंगवाट छनौट गरिएको आरोप लगाएका छन् । 

तामाङले योग्यता र क्षमता भएकाहरूलाई पाखा लगाउदा सिंगो पार्टीलाई असर पर्ने बताए । 

वडा नं. १ मा नेकपा एमालेले वर्तमान वडाध्यक्षलाई नै उमेद्वार घोषणा गरिसकेको छ भने भण्डारीले प्रचार अभियानलाई व्यापकता दिन शुरु गरिसकेका छन् । 

गत निर्वाचनमा नेपाली कांग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा भएको थियो ।  राप्रपाका देवेन्द्र खड्काले निर्णायक शक्तिको रूपमा भुमिका खेलेको उक्त निर्वाचनमा १५० मतान्तरले भण्डारी विजयी भएका थिए । 
यस पटक पनि राप्रपाले खड्कालाई नै उठाउने प्रायः निश्चित देखिएको छ। खड्काले घर दैलो अभियानलाई तिब्र बनाइ सकेका छन्।  

 

 

मेरो सहमति इन्द्र गौतमलाई नै छ: सन्जिब कार्की 

यसै बीच वडा अध्यक्षका आकांक्षी सन्जीब कार्कीले भने आफ्नो समर्थन इन्द्र गौतमलाई नै भएको बताएका छन्।  वडाध्यक्षमा उठ्न आफु आकांक्षी भएता पनि आफुले गौतमलाई समर्थन गर्ने बताएका हुन्।  

 'हलमा उपस्थित ९९ प्रतिशतले इन्द्र गौतमको नाम लिएका हुन्।  पूर्ण सहमतीका साथ गरिएको निर्णय हो यसमा मेरो भूमिका पनि इन्द्र दाई लाइ समर्थन गर्ने मै केन्द्रित थियो।', कार्कीले भने 

'कार्यक्रम नसकिदै हल छोडेर हिंडे पछि सबै कुरा बुझिदैन, अन्तिम समय सम्म धैर्यवान भएर बस्न सक्नु पर्छ।',  इमान सिंह तामाङ्गले आफ्नो नाम जोडेर प्रचार गरेको आरोपको खण्डन गर्दै कार्कीले पर्दाफास संग भने।  

Views: