d

चुनाव सर्छ किन भन्छन् माधव नेपाल ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव सर्नेबारे एकपछि अर्को अभिव्यक्ति दिन थालेका छन् ।  शनिबार एक कार्यक्रममा चुनाव सर्नसक्ने अभिव्यक्ति दिएका उनले सोमबार पनि विप्लवलाई देखाएर त्यस्तै अभिव्यक्ति दिएका हुन् । 

पाल्पा पुगेका उनले सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै विप्लव  नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिने बताएका हुन् । चुनावको मिति आउन एक महिनामात्रै बाँकी हुँदा उनले यस्तो बताएका हुन् । ‘विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ’, उनले भने। 

चुनावको मिति सर्नसक्ने बारे चर्चा भइरहेको बेला त्यसलाई बल पुग्नेगरी नेपालले अभिव्यक्ति दिएका हुन् । यसअघि शनिबार नेकपा एकीकृत समाजवादीको दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो चुनावले ५ वर्ष नपुगेका जनप्रतिनिधिहरूको भावनाको विपक्षमा निर्णय गरेको भन्ने कुरा उठिरहेको बताएका थिए । 

‘असोजमा चुनाव भएकाहरूको ५ वर्ष पुगेको छैन, त्यसको जवाफ कसले दिने ?,’ उनको भनाइ थियो, ‘त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक अधिकारको हनन भएको छ । यो चुनावले उनीहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ ।’

आगामी दिनमा जे भए पनि चुनावको तयारीमा जुट्न भने उनले कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । file photo

Views: