d

स्थानीय तहको निर्वाचनका लागि राप्रपाले सार्वजनिक गर्यो यस्तो घोषणापत्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

४ पेज लामो राप्रपाको घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुद लगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ।

घोषणापत्र अनुसार कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो।

यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ । महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।

यस्तै राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने घोषणा गरेको छ । महिला हिंसा, दाइजो प्रथा तथा बाल विवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहारसुसार हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने सेवा सुबिधा घर दैलोमा नै पुर्याउने व्यवस्था मिलाउने, महिनाको एक पटक सबै ज्येष्ठ नागरिकहरुलाई घर दैलोमा नै आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने, ग्रामिणस्तरमा आयआर्जन र रोजगारीलाई सुनिश्चितता गर्दै बसाईंसराई व्यवस्थित र न्यूनीकरण गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ।

यस्तै सबै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको आत्मसम्मानपुर्वक जीवनयापनका लागि वातावरण निर्माण गर्ने, सार्बजनिक सेवा सुबिधा बत्ति, खानेपानी, ढल,बाटोको सुविधाको व्यवस्था गर्नेलगायतका विषय पनि घोषणापत्रमा समेटिएको छ। file photo

Views: