d

नेपालको अर्थतन्त्र संकटमा नरहेको विश्व बैंकको भनाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विश्व बैंकले नेपालको अर्थतन्त्र हाल संकटमा नरहेको र संकटउन्मुख पनि नभएको बताएको छ । विश्व बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै आफूले नेपालको अर्थतन्त्र संकटमा रहेको कहिल्यै नबताएको पनि उल्लेख गरेको छ । ‘अहिले नेपालसँग साढे ६ महिनाको आयात मात्रै धान्ने विदेशी मुद्राको सञ्चिति भएका कारण अर्थतन्त्र संकटमा रहेको हो कि भन्ने शंका गरिएको छ । तर, विदेशी मुद्राको सञ्चितिले कति महिनाको आयात धान्छ भन्ने कुरा कथाको आधा भाग मात्रै हो,’ विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले भनिन्, ‘यसलाई पूर्ण रूपमा हेर्न मुलुकले कति वैदेशिक ऋण तिर्नुपर्नेछ भन्ने हेर्नुपर्छ । त्यसतर्फ नेपालको अवस्था सहज छ ।’

नेपालले उच्च ब्याज तिर्नुपर्ने व्यावसायिक ऋण नलिएकाले पनि नेपाललाई विदेशी मुद्राको संकट नपर्ने ब्रुक्सले बताइन् । श्रीलंकाप्रति संकेत गर्दै ब्रुक्सले भनिन्, ‘केही छिमेकी मुलुकको वैदेशिक ऋण पनि उच्च छ, उनीहरूले व्यावसायिक ऋण पनि लिएका छन्, व्यावसायिक विदेशी ऋण नलिएर नेपालले विवेकपूर्ण काम गरेको छ,’ ब्रुक्सले भनिन् । अहिले नेपालको कुल ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ प्रतिशत मात्रै छ, आगामी वर्ष यो ४४.५ प्रतिशतसम्म पुग्ने र त्यही बिन्दुमा स्थिर रहने प्रक्षेपण विश्व बैंकको छ । आगामी दिनमा रेमिट्यान्स आप्रवाह पनि राम्रो हुने हुनाले मुलुक संकटतर्फ होइन, पुनरुत्थानतर्फ जाने विश्व बैंकको ठहर छ । ‘हामीभन्दा बढी तथ्यांक सरकारसँग छ, तर हामीसँग जति तथ्यांक छ, त्यसले अर्थतन्त्र संकटतर्फ जाने कुनै संकेत गर्दैन,’ ब्रुक्सले भनिन् ।

पछिल्लो समय औद्योगिक आयातमा वृद्धि भइरहेको र यो अर्थतन्त्रका लागि राम्रो भएको उनले बताइन् । राष्ट्र बैंकले हाल आयात घटाउन यससँग सम्बन्धित कर्जामा गरेको कडाइ अल्पकालीन उपाय भएको उनले बताइन् ।

ढिलो भए पनि अर्थतन्त्र वृद्धितर्फ नै अघि बढ्छ
कोभिड–१९ का कारण दुई वर्षसम्म सुस्त बनेको नेपालको अर्थतन्त्र आगामी तीन वर्षमा बिस्तारै पुनरुत्थान हुँदै जाने विश्व बैंकले जनाएको छ । ‘आगामी दिनमा देशव्यापी कडा लकडाउन नहुने, यही आर्थिक वर्षभित्र खोप लगाउन योग्य सबै जनतालाई खोप लगाइसक्ने, वैदेशिक रोजगारीमा जाने नेपाली र नेपाल भ्रमणमा आउने पर्यटक बढ्ने अनुमानका आधारमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत र आगामी आर्थिक वर्षमा ४ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरिएको छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘त्यसपछिको वर्ष सन् २०२४ मा भने आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत पुग्ने अपेक्षा छ, जुन नेपालको दीर्घकालीन सम्भावित वृद्धिको नजिक हो ।

चालू आर्थिक वर्षमा चालू खाता घाटा बढे पनि त्यसपछि भने यो घट्दै जाने विश्व बैंकले जनाएको छ । ‘भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भइसकेको तथा आगामी दिनमा पेट्रोलियमको साटो विद्युत् ऊर्जाको प्रयोग बढ्दै जाने कारण वस्तु आयातको वृद्धिदरमा कमी हुने अनुमान छ,’ विश्व बैंकको प्रतिवेदनले भनेको छ, ‘आगामी तीन वर्षमा थप चार हजार मेगावाट विद्युत् उत्पादन थपिने देखिन्छ, जिडिपीको अनुपातमा रेमिट्यान्सको हिस्सा स्थिर हुनेछ, त्यस्तै, पाम र सोयाबिन तेलका कारण नेपालको निर्यात पनि बढ्ने नै देखिन्छ ।’ त्यस्तै, आगामी आर्थिक वर्षदेखि नेपालले भारततर्फ निर्यात गर्ने विद्युत् बढ्ने, महामारी कम हुँदै जाँदा सेवा क्षेत्रको आयात तथा निर्यात दुवै बढ्ने कारण अर्थतन्त्रको गति बिस्तारै बढ्दै जाने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

कोभिड–१९ को महामारीका कारण नेपालको अर्थतन्त्रलाई गहिरो घाउ लागेको बताउँदै त्यसबाट निस्कन बोल्ड कदम चाल्नुपर्ने विश्व बैंकले बताएको छ । ‘यसबीचमा पर्यटन र सेवा निर्यातबाट हुने आय करिब शून्य भयो, रोजगारी गुम्यो, ठूलो मात्राको वित्तीय आवश्यकता पूर्ति गर्न स्रोतको कमी भयो । सरकारले खोपको पहुँच पुर्‍याउन प्रशंसनीय काम गरेको छ, तर अर्थतन्त्रलाई प्रोत्साहित गर्न आर्थिक सुधारका लागि धेरै काम गर्न सकिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । 

 नयाँ पत्रिकामा खबर छ।  

Views: