d

गौरादहमा चुनावी प्रतिस्पर्धा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास फागुन १७ झापा: झापाको गौरादह नगरपालिकामा स्थानीय निर्वाचनको प्रचारप्रसार तिब्र रुपमा शुरु भएको छ।  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनको लागि राजनीति दल तथा स्वतन्त्र उम्मेद्वारहरु भोट माग्ने अभियानमा होमिएका हुन् । 

निर्वाचन घोषणा संगै मेयर पदमा यो पटक कसले बाजि मार्ला भन्ने अड्कलबाजी शुरु भएको छ।  

मेयरको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट रोहित कुमार साहले उम्मेद्वारी दिएका छन् । त्यस्तै एमालेको तर्फबाट छत्रपती सुवेदी र राप्रपाबाट गोपाल पौड्याल मेयरपदका प्रत्यासी उम्मेद्वार रहेका छन् । 

अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले बिच मुख्य प्रतिस्पर्धा रहेको थियो भने यो पटकको निर्वाचनमा कांग्रेस संग माओवादी सहितका अन्य गठबन्धन दलहरू एकातिर छन्।  एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ त्यस्तै राप्रपा पनि एक्लै चुनावी मैदानमा देखिएको छ । 

कांग्रेस नेता साह अघिल्लो पटक कांग्रेसको तर्फबाट एमालेका उम्मेदवार मदन अधिकारीलाई पछि पार्दै निर्वाचित भएका मेयर हुन् त्यस्तै एमालेका प्रभावसाली नेता सुवेदी वडा नं. ५ का निर्वाचित वडाध्यक्ष रहेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेका पौड्याल सञ्चार उद्यमी  हुन् । स्टार एफ एम का प्रवन्ध निर्देशक रहेका पौड्याल  केन्द्रिय राजनीतिमा बलियो पहुँच राख्ने राप्रपाका निर्वाचित केन्द्रिय सदस्य समेत रहेका छन् । 

पन्चायतकाल देखिनै  जनप्रतिनिधि भएर अनुभव हासिल गरेका एमालेका मेयर पदका उम्मेद्वार सुवेदी २०४६ को राजनीतिक परिवर्तन संगै निरन्तर जनप्रतिनिधिकै रुपमा सक्रिय राजनीतिमा छन्।  पन्चायती व्यवस्थाको अन्त्य संगै एमाले प्रवेश गरेका उनि खासगरी प्रशासनिक र न्यायीक क्षेत्रमा आफ्नो अब्बलता प्रस्तुत गर्छन् ।

उता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका रोहित साह  गत निर्वाचनमा अल्पमतको मेयर भएकोले आफुले सोचे जस्तो कार्य गर्न नसकेको बताउँदै पुन: मेयर पदको जिम्मेवारी बहन गर्ने योजना सहित चुनावी मैदानमा उत्रिएका छन्।  स्वास्थ्य क्षेत्रका व्यवसायी समेत रहेका साह गरिव र बिपन्न समुदायलाई घोपा क्याम्प लगायतका अस्पतालमा सर्वसुलभ स्वास्थ्य सुबिधा प्रदान गर्न सहायता गर्ने व्यक्तिको रुपमा परिचित छन्।   

साह र सुवेदीको तुलनामा राप्रपाका पौड्याल अलि फरक पृष्ठभुमिका  देखिन्छन् ।  गौरादह बहुमुखी क्याम्पसमा २०४९/०५० तिर राप्रपा निकट बिद्यार्थी संगठनको नेतृत्वमा रहेका पौड्याल युवाहरुको पक्षमा बलियो वकालत गर्ने नेता मध्ये पर्दछन् । राजनीति शास्त्र र पत्रकारितामा एम ए सम्म अध्ययन गरेका पौड्याल गौरादहको मेयर पदमा उम्मदेवारी दिनुको मुख्य उद्देश्य व्यवस्थित विकास योजना संचालन गर्नु रहेको बताउछन्।  गौरादहको मुख्य समस्या भनेको संस्थागत रुपमा हुने भ्रस्टाचार नै हो भन्ने उनको बुझाई छ।  नगर परिसरमा चामल गाडिएको  काण्ड, जमिन किर्ते काण्ड, जस्तापाता काण्ड, नगरपालिकामा प्रशासनिक ढिलासुस्तीको कारण सेवाग्राहीले मृत्युवरण गरेको र नगर तोडफोड भएको विषय, बोयर बाख्रामा भएको अनियमिता र योजना विहिन विकास निर्माण, अलपत्र पोखरी, महारानी झोडा लगायतका जग्गा धनीहरुको धनीपुर्जा सम्बन्धी समस्या आदीको कारण समग्र गौरादह बद्नाम भएको बताउँदै उनले दिगो विकासको अवधारणालाई प्रथामिकता दिनुपर्ने भन्दै प्रतिबद्दता पत्र सार्वजनिक गरेका छन्।   

पौड्यालले आफ्ना बौद्दिक तर्क अगाडी सार्दै चुनावी प्रचारप्रसार अगाडी बढाएतापनि दुई मुख्य शक्ति कांग्रेस-माओबादी सहितको गठबन्धन दल र एमाले विचमै प्रतिस्पर्धा हुने एकातर्फ चर्चा छ भने मुलुकभर देखिएको राप्रपाको लहरले गौरादह नगरपालिकामा समेत भिन्न प्रभाव पार्न सक्ने तर्क गर्नेहरु समेत उत्तिकै देखिने गरेका छन्।   
   
गौरादह ५ वटा गाबिसलाई मिलाएर बनाइएको नगरपालिका हो । साविक गौरादह गाविसमा पर्ने वडा नं. १, २ र ३ मा मात्र प्रदेश र संघीय सरकार बाट प्राप्त हुने ससर्त अनुदानलाई प्राथमिकतामा दिने गरिएको गुनासो साविकका अन्य गाविसहरुले लगाउने गरेका छन् । मेयर र उपमेयर भूगोल मिलाएर उठाउनुपर्ने गौरादह नगरबासीको मागलाई यो पटक भने एमाले र राप्रपाले सम्बोधन गरेको देखिन्छ । 
यो पटकका मेयर पदका उम्मेद्वारहरु हेर्दा वर्तमान मेयर रोहित कुमार साह साविक गौरादहका हुन् ।  एमालेका छत्रपती सुवेदी कोहबराका हुन् भने राप्रपाका पौड्याल साविक महारानी झोडा निवासी हुन् । उपमेयर पदका उम्मेद्वार हेर्दा  गठबन्धनका तर्फबाट (माओवादी) उम्मेद्वार पुष्प ढकाल गौरादह २, राप्रपाकी भरिपूर्ण राई गौरादह ७ दुधाली र त्यस्तै एमालेकि जलवर्षा राजवंशी गौरादह ८ जुरोपानी निवासी हुन् । 

नेकपा एकीकृत समाजबादी गौरादहको गठबन्धनमा सहभागी छैन । उसले कोहबरा ६ का खगेन्द्र दाहाललाई मेयर पदमा उठाएको छ। उनी एमाले भित्र रहेर रुष्ट बनेकाहरुको मत आफुले पाउनेमा विश्वस्त छन् । 

समग्रमा हेर्दा गौरादहमा यो पटकको नतिजा अघिल्लो चुनावमा आकलन गरिएको भन्दा फरक आउने देखिएको छ ।
एमाले वा कांग्रेस मध्ये कसको मत राप्रपाले सबै भन्दा बढी काट्छ  भन्ने विषयमा विभिन्न अड्कल बाजिहरु हुने गरेको पाइन्छ ।

अघिल्लो निर्वाचनमा निकै कमजोर उपस्थिति जनाएको राप्रपाले यो पटक फरक ढंगले आफुलाई जनतामाझ प्रस्तुत गर्दैगर्दा कति मत ल्याउने हो भन्ने आकलन त्यति सहज देखिदैन ।  

घात, प्रतिघात र अन्तर्घातको सिकार हुँदै चुनावी माहोलमा होमिएका उम्मेद्वारहरुलाई गौरादहबासीले कुन रुपमा हेर्ने हुन् र कसलाई मेयर पदको जिम्मेवारी दिने हुन् त्यो हेर्न भने अझै २ हप्ता पर्खनु पर्ने देखिएको छ।

Views: