d

एमाले जिल्ला अध्यक्ष कार्कीको वडामा स्वतन्त्र उम्मेदवार विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह ३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिलिप भण्डारी भारी मत सहित विजयी भएका छन्।   ३० वर्ष देखि एमालेमा क्रियाशिल रहेका भण्डारीलाई पार्टीले वडाध्यक्षमा उठाउन आनाकानी गरेकै कारण स्वतन्त्र उम्मेद्वारी दिएको बताइएका भण्डारीले एमालेका उम्मेदवार गजेन्द्र घिमिरेलाई निकै पछाडी छोड्दै भारी मत अन्तरले वडाध्यक्षमा विजयी भएका छन्।  ४ जना वडाध्यक्षका उम्मेदवार रहेको यस वडामा अन्य सबै उम्मेदवारहरु भण्डारीका अगाडी निरिह जस्तै देखिएका छन्।   

वडा न. ३ राजनीतिक दृष्टिकोण समेत निकै महत्वपूर्ण रहेको वडा मानिन्छ।  संबिधान सभा सदस्य तथा हाल झापा जिल्ला अध्यक्ष दिपक कार्कीको गृहवडा र एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री हिक्मत कुमार कार्की समेतको गृहवडा रहेको यस वडामा स्वतन्त्र उम्मेदवारको रुपमा भएको भण्डारीको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ।   

 भण्डारीलाई युवाहरुको बलियो साथ र समर्थन रहेको देखिएको छ । 

'दिपक दाईहरु हामीलाई सुर्यमा भोट हाल्नुस भन्दै कन्भिन्स गर्न आउनु भएको थियो  तर हामीले उल्टै वहाँहरु संगै दाइ यो पटक तपाईं पनि जेब्रालाई  भोट दिनुस भनेर भोट माग्यौं।', दिलिप भण्डारीको विजय उत्सब मनाउन नगरपालीका आइपुगेका एक युवाले भने।  

 कुल २४ सय ७१ जनाले मतदान गरेको उक्त वडामा जेव्रा चुनाव चिन्ह रहेका भण्डारीले  निकटतम प्रतिद्वन्द्वी एमालेका गजेन्द्र घिमिरेलाई करिव ५ सयको मतान्तरले पछि पार्दै विजयी भएका छन् । 

स्वतन्त्र उम्मेद्वार भएर विजयी भएका भण्डारीले अवको ५ वर्ष स्वतन्त्र हैसियतमै रहेर वडाको सेवा गर्ने घोषणा गरिसकेका छन् । 

'हाम्रो परिवार गरिविको रेखामुनि रहेको परिवार थियो। हातमुख जोड्न धौधौ पर्दा ओल्लो गाउँ र पल्लो गाउँ गरेर ४ पटक बसाई सरियो। बसाइँसराइकै क्रममा साथीभाइ पनि धेरै हुनुभयो । अहिले वहाँहरुकै आशिर्वाद र मायाले वडाध्यक्ष बन्ने मौका मिलेको छ, ।', भण्डारी भन्छन् । 
पर्दाफास संग संक्षिप्त कुरा गर्दै उनले भने, 'मैले मेरा भगवान जस्ता मतदाता संग स्वतन्त्र अस्तित्वमा रहेर काम गर्छु भनेर वचन दिएको छु। राजनीतिक दल भन्दा माथी रहेर काम गर्नेछु।'

तपाईंलाई वडाध्यक्षको कुर्सीमा बस्ने मौका वडाबासीले दिएका छन्, वडाको विकास कसरी गर्नुहुन्छ ? भन्ने जिज्ञासामा भण्डारी यसो भन्छन्, 'यो जित वडाबासीको हो, हरेक वर्ग र समुदाय अनि संघ, संस्था संग बहस गर्छु । 
'आम जनसमुदायका इच्छा र भावना अनुसार म चल्ने छु।'
भ्रष्टाचारमा जिरो टोलरेन्स रहनेछ, ५ वर्षमा नमुना वडा बनाएर देखाउने संकल्प वडाबासी संग गरेको छु।'

 

Views: