d

सम्झनामा राजा विरेन्द्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । मलाई स्वर्गीय राजा वीरेन्द्रका बारेमा केही कुरा भन्दा, लेख्दा के लेख्ने, के भन्ने, कुन कुरा उठाउने भन्ने दुविधा हुने गर्छ । परिचित र एक शीर्ष व्यक्तित्वका बारेमा धारणा राख्दा यसो हुनु स्वाभाविक पनि हो किनभने ती व्यक्तित्वका बारेमा धेरैले धेरै कुरा थाहा पाएकै हुन्छन्। र, विशेष कुरा साह्रै थोरै मानिसहरूलाई मात्रै थाहा हुन्छ।

त्यो पनि केही हदसम्म मात्र। मेरो स्वर्गीय राजा वीरेन्द्रसँग सान्निध्य हुने अवसर प्राप्त भयो। उहाँसँगको भेटघाट र कुराकानीले केही विषयमा मेरो मनमा केही अमिट छाप पनि पर्न गएको छ। तर, लिपिबद्ध गर्न खोज्दा फेरि पनि मलाई कुन कुरा लेख्ने र कति लेख्ने भन्ने दुविधाले मन ग्रस्त हुन्छ। स्वर्गीय राजा वीरेन्द्रमा विशाल मानवीय गुणको भन्डार रहेको म सम्झिरहन्छु। जस्तोसुकै परिस्थितिमा पनि अर्कालाई अप्ठ्यारो नपरोस् भन्ने दृष्टिकोण उहाँमा थियो।

चाहे जोसुकै होस्, उसको मनमा चोट नलागोस्, कुभलो नहोस् भन्नेमा उहाँ सचेत हुनुहुन्थ्यो। राजा वीरेन्द्रको शासनकालमा जनमतसङ्ग्रह र बहुदलीय व्यवस्थाको पुनस्र्थापना जस्ता महत्वपूर्ण राजनीतिक परिवर्तनका निर्णयहरू भएका छन्। त्यसको पृष्ठभूमिमा राजा वीरेन्द्रको हृदयमा रहेको मानवतावादी दृष्टिकोण नै प्रमुख कारण हो भन्ने मेरो बुझाइ छ। ‘हामीले मागेको ४ आना मात्र हो, राजाले त १ रुपैयाँ नै पो दिए त’, जनमतसङ्ग्रहको निर्णयपछि बहुदलबादी राजनीतिकर्मीहरूको टिप्पणी थियो। ‘साधारणस्तरबाट विचार गरी जनमतसङ्ग्रह नै गराउनु किन पथ्र्यो ? बहुदलीय व्यवस्था नै दिइहाल्नुपर्ने के थियो र ?’ भन्नेहरूको पनि त्यतिबेला कमी थिएन।

आजसम्म पनि त्यो विचार बोक्ने मानिसहरू छँदै छन्। यी प्रश्नहरूको जबाफ खोज्न हामीले उहाँको शालीन र मानवीय मूल्यहरूले ओतप्रोत हृदयलाई दृश्याङ्कन गर्नुपर्छ अनि मात्र त्यसको सही जबाफ प्राप्त गर्न सकिन्छ। मैले राजा वीरेन्द्रको दर्शन भेट पाउँदा मलाई एक मार्गदर्शक दार्शनिकलाई मात्र भेटेको अनुभूति हुँदैनथ्यो, एक असल व्यक्तित्व र आफ्नो अत्यन्त हित चिन्तकसँग भेटेको पनि अनुभूति हुन्थ्यो। उहाँको अर्को गुण सादगी तथा सरलता थियो।

सरल व्यवहार, सरल खानपिन, सरल पहिरन जस्ता आनीबानीले उहाँको वरिपरि नै सरलताले बास गरेजस्तो मलाई अनुभूत हुन्थ्यो। २०४२ सालतिरको कुरा हो, उहाँ सुर्खेतमा क्षेत्रीय भ्रमणका क्रममा हुनुहुन्थ्यो । मैले पनि प्रधानमन्त्रीको हैसियतले सातामा एक पटक राजालाई भेट गर्न सवारी क्याम्पमा जानुपथ्र्यो । पुगेको दिन भेट पाएपछि त्यहीँ बस्थेँ र अर्को दिन फर्कन्थेँ ।

त्यसबेला सधैँ होइन, कहिलेकाहीँ कसैलाई खबर नदिई अङ्गरक्षकहरूलाई मात्र लिएर उहाँ २–३ घन्टा घुमफिरमा निस्कनुहुन्थ्यो । मलाई ठ्याक्कै मिति त सम्झना छैन, मेरो भेटघाटको समय अपराह्नलाई तय भएको थियो । तर, त्यस दिन उहाँ मुगुतिर, सायद रारा तालको भ्रमणमा जानुभएको हुन सक्छ । फर्किने बेलामा एक्कासि मौसम बिग्रिएको हुँदा हेलिकोप्टरले उडान गर्न नसक्ने अवस्था भएछ । त्यस दिनको रात राजा वीरेन्द्रले एउटा गोठमा बिताउनुपर्ने भएछ । त्यो कुरा भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य कृष्णबहादुर मल्लले कसरी कसरी थाहा पाएछन्।

त्यस ठाउँका वरिपरिका गोठबाट २–४ वटा मन्डीको व्यवस्था गरेछन् र खानाका निम्ति भुटेको मकै र काँचो मूलाको मात्र व्यवस्था भएछ। कृष्णबहादुर मल्लको मनमा राजालाई त्यो भोजन गराउने भन्ने धक रहिरहेछ । तर, राजा वीरेन्द्रले उनलाई कुनै धक नमान्न भनेछन् । साथसाथै भुटेको मकै र मूला निकै रुचिका साथ खाएछन् पनि। त्यति मात्र होइन, राजा वीरेन्द्र पिर्काको सिरानी राखेर आराम गरेको दृश्यले मल्लजीको हृदयमा गहिरो छाप परेको रहेछ। अर्को दिन मौसम सफा भएपछि राजा वीरेन्द्रको फिर्ती सवारी भयो । त्यस्तै अर्को घटना पनि छ, जोसँग म आफैँ पनि सम्बन्धित छु। २०४३ सालको कुरा हो, म आमनिर्वाचन सिध्याएर काठमाडौं फर्किएको केही दिनभित्र नै मेरो पिताजीको स्वर्गवास भयो। म पशुपतिस्थित राजराजेश्वरी घाटमा किरिया बसेको थिएँ।

त्यहीबेला एक दिन पूर्वमन्त्री नारायणदत्त भट्ट हामीलाई भेट्न आउनुभएको थियो। उहाँले भन्नुभयो, ‘बाहिर निकै सरसफाइ भइरहेको छ, कुनै ठूलो मानिस यतातिर आउँछन् कि क्या हो ?’ हामीलाई कुनै जानकारी पनि थिएन । हामीले सोच्यौँ– कोही मन्त्री र प्रधानमन्त्रीजी आउने कार्यक्रम होला। जो आए पनि हामी किरिया बसेको ठाउँमा आउने जानकारी थिएन । कुनै कार्यक्रम रहेको पनि हुन सक्थ्यो। असार महिनाको पहिलो साताको एक दिन दिउँसो ३ बजेतिर राजा वीरेन्द्रको सवारी म किरिया बसेको स्थल राजराजेश्वरी घाटमा भयो। हामी हतप्रभ मात्र होइन कि किंकर्तव्यविमूढ पनि भयौँ ।

राजालाई कहाँ बसाउने भनेर हामी अत्तालियौन् । त्यतिबेला हामीसँग साधारण कुर्सी पनि थिएन । एक्कासि राजाको सवारी हुँदा हामी अन्योलमा परेका थियौँ । त्यसबेलासम्म राजाहरू किरियापुत्री भएका ठाउँमा जाने परम्परा नै थिएन । हामीले हतारहतारमा कम्बल दोबारेर राखेका थियौँ, राजा वीरेन्द्र त्यसैमा बस्नुभयो । हामीलाई सहज स्थितिमा पुर्‍याउन उहाँले केही कुरा पनि गर्नुभयो । केहीबेर हामीलाई सान्त्वना दिएर फर्किनुभयो। स्वर्गीय राजा वीरेन्द्र प्रचलित मान्यताहरूलाई समेत परिवर्तन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । अधिकांश मानिसहरू पुरानै लिकमा हिँड्ने गर्छन्, लिक छाडेर हिँड्नेमा कि सिंह, कि कवि, कि सपुत मात्र हुने गर्छन्।

उहाँको कार्यकालमा भएका ठूलाठूला राजनीतिक निर्णयले पनि त्यो कुराको सङ्केत गर्छ । राजा वीरेन्द्र बल प्रयोग गरेर शक्तिमा बस्ने भन्दा पनि हृदय परिवर्तनमा विश्वास राख्नुहुन्थ्यो। उहाँ समयानुकूल परिवर्तनको पक्षमा हुनुहुन्थ्यो तर समाजलाई पाच्य हुने किसिमको मात्र। स्वर्गीय राजा वीरेन्द्र क्रान्तिकारी मात्र होइन, सन्त र दार्शनिक पनि हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ छ ।

(‘स्वर्गीय श्री ५ वीरेन्द्र सम्झना र श्रदाञ्जलि’ स्मृति ग्रस्थबाट सम्पादित अंश ।)

Views: