d

बालेनलाई पहिलो सफलता, महानगरबासीका गुनासा सुन्न कल सेन्टर स्थापना  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला


आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर  सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर अर्थात गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र सञ्चालन गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यन्वयनमा ल्याइएको हो।  महानगरको कल सेन्टर केन्द्र राष्ट्रियसभा गृहमा  व्यवस्था गरिएको छ।  


महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र साह (बालेन) बताउछन् । 

महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१, ०५५११ मा सम्पर्क गर्न सकिने बताइएको छ। 

‘सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको रहेको र हाल ५ वटाबाट शुरु गरेको जनाएको छ। 


कसरी काम गर्छ ? 

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ । गुनासो वा सोधपुछ कर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा  गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ । केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङ भन्छन्, ‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाई गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खवर पनि गर्नुपर्छ ।’


महानगरको सेवा, महानगरका  वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो । सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ । तर गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।   file photo

Views: