d

काठमाण्डौ महानगर: कार्यपालिका बैठकमा के के भए निर्णय ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्।   

आज आइतवार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै मेयर साहले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । त्यो समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए। 

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरूले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने मेयर साहले बताए। विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमवार बैठक बसेर समन्वय बढाइने उनले बताए ।

बैठकले फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनका विषयमा वडा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । 

बैठकले नगर सभाको ११ औँ अधिवेशन आउँदो असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपमेयर डङ्गोलको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ । 

बैठकमा मेयर साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर रहेका छन् । 

यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।  

Views: