d

चीनद्वारा नेपालको प्रशंसा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । नेपाललाई लिएर दुई शक्ति राष्ट्रबीच वाकयुद्ध चलिरहेकै बेला अमेरिकी सैन्य स्टेट पार्टनससीप अस्वीकार गरेकोमा चीनले नेपालको प्रशंसा गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता रक्षामा सधैं सघाउने प्रतिबद्धतासमेत जनाए । ‘नाटोलाई चिनियाँबिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउनेगरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन’ पनि उनले चेतावनी दिएका छन् ।

अमेरिकी शैलीको प्रजातन्त्र बारे प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि प्रवक्ता वाङ वेनबिनले जिकिर गरे । अमेरिकी नेताले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका बनाएकोसमेत उनले आरोप लगाए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अमेरिकाद्वारा अघि बढाइएको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय लिएको हो ।

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई चीनले समर्थन गरिरहने छ,’ प्रवक्ता वेनबिनले भनेका छन्, ‘क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धि रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’

प्रवक्ता वेनबिनले ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई ‘इन्डो–प्यासिफिक रणनीति’सँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन् । ‘उनीहरू यसलाई राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मान्छन्,’ उनले भनेका छन् । राजधानीमा प्रकाशित समाचार। 

Views: