d

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आर्थिक वर्ष २०७९/८० का लागि भरतपुर महानगर पालिकाले पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षको तुलनामा २२ करोड ६९ लाख ६८ हजार रुपैयाँ बढी हो । बजेटका लागि आन्तरिक आय (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँड)  बाट  १ अर्ब ५० करोड रुपैयाँ रहने छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट  १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागितामार्फत ३७ करोड,  मर्मत सम्भार कोषबाट ४ करोड, सडकबोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड रुपैयाँ जुटाइने उपमेयर चित्रसेन अधिकारीको बजेट वक्तव्यमा उल्लेख छ । उनका अनुसार एक अर्ब ३० करोड बैंक मौज्दात छ । 

महानगरको बजेटमा अधुरा तथा क्रमागत योजनाहरुको निरन्तरताको लागि एक अर्ब ३० करोड, वडास्तरबाटै सम्पन्न हुने योजनाहरुको लागि दुई करोड ५० लाखको दरले २९ वटा वाडमा गरेर ७२ करोड ५० लाख विनियोजन गरिएको छ । 

यस्तै शहरी पुर्वाधार, भू उपयोग तथा वस्ति विकासका लागि ३४ करोड बढि, कृषि तथा पशुविकासमा १५ करोड ५० लाख, शिक्षा विकासको लागि १३ करोड, नियमित सडक मर्मत सम्भारतर्फ ८ करोड, स्वास्थ्य सेवातर्फ ७ करोड, खानेपानी, वतावरण सरसफाई तथा हरीयाली पर्वद्धनको लागि ८ करोड, स्वास्थ्य सेवा तर्फ ७ करोड, खानेपानी, वतावरण सरसफाई तथा हरीयाली प्रर्वद्धनतर्फ १० करोड बजेट छ । 

सुचना तथा प्रविधि एवं डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै महानगरपालिकाले ३ करोड छुट्टयाएको छ भने राजश्व प्रशासनलाई समयानुकुल र प्रविधिमैत्री बनाउन १ करोड बजेट छ । कर्मचारी, प्रशासन, जनशक्ति विकास तथा सुशासनको लागि १ करोड, सेवा प्रवाह र प्रशासन शीर्षकमा ७५ करोड ५० लाख, नीजि क्षेत्र लगायतका अन्य विकास सहयात्रीसँगको सहकार्यका लागि लगानी सम्मेलनमार्फत श्रोत जुटाउन  ५० लाख विनियोजन गरिएको छ । 

सहकारी तथा रोजगारी पर्वद्धनमा २ करोड ५० लाख विनियोजन गरेको महानगरपालिकाले पर्यटन तथा उद्योग वाणिज्यतर्फ दुई करोड ५० लाख, युवा तथा खेलकुदतर्फ दुई करोड, विपद् व्यवस्थापनमा दुई करोड ४५ लाख ५२ हजार र लैङ्गिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशीकरणतर्फ चार करोड बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरपालिका मेयर रेनु दाहालले विगतमा पुर्वधार विकासलाई जोड् दिदैँ आएपनि यस पटक उत्पादनमा र कृषिमा नगरपालिकाले जोड् दिएको बताइन् । 

महानगरले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको प्रति लिटर ३ रुपैयाँ दूधमा अनुदानसँगै कृषि एम्बुलेन्सको व्यवस्था लगायत विषय राखेको छ  भने महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले घोषणा गरेको नीति तथा कार्यक्रममा छ । महानगरले भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाउने विषय पनि आफ्नो बजेटमा राखेको छ । नयाँ पत्रिका। 

Views: