d

५ वर्ष भित्रमा गौरादहले नयाँ स्वरुप ग्रहण गर्दै छ  - छत्रपति सुवेदी (कुराकानी)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ /८० को लागि ७७ करोड  १७ लाख बढीको  बजेट आउने देखिएको छ।  
यो पटक नगरपालिकाको आन्तरिक आय २ करोड बराबर हुने अनुमान गरिएको छ।  त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ  १७ करोड ५७ लाख, सशर्त अनुदान तर्फ ३२ करोड ७७ लाख ५० हजार, १२ करोड ५२ लाख ६४ हजार, विशेष   अनुदान ८५ लाख, समपुरक अनुदान १ करोड ४० लाख, वन रोयल्टी ४० हजार रहेको देखिन्छ। 

 प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ  ९७ लाख ७४ हजार, सवारी साधन कर बाँडफाँड तर्फ ७० लाख ४३ हजार ८ सय १०, ससर्त अनुदान ७१ लाख २३ हजार, समपुरक अनुदान १ करोड रहेको देखिन्छ।  रजिस्ट्रेशन बाँडफाँड तर्फ २ करोड २५ लाख, स्थानिय सडक मर्मतका लागि सडक बोर्ड बाट ३५ लाख, गत सालको क्रमागत क्रमागत योजनाहरुको खर्च ४ करोड ५५ लाख २ हजार ३ गरि व्यय तर्फ ७७ करोड  १७ लाख ४६ लाख ८ सय १३ रुपैयाँ देखिएको छ।  

 चालु तथा कार्यालय संचालन खर्च तर्फ ४६ करोड ५७ लाख  ५६ हजार ८ सय  १५ प्रस्तावित रहेको पाइन्छ।   पूर्ण आकारको बजेट असार २२ / २३ गते भित्रमा सार्वजनिक गरिने बताइएको छ।  

प्रस्तुत छ गौरादह नगर प्रमुख छत्रपति सुवेदीसंग पर्दाफास सम्पादक सान नेपालले गर्नुभएको अनौपचारिक कुराकानीको सम्पादित अंश:

 

नगरका तत्कालिन योजनाहरु के कस्ता छन् ?

हामीले दिर्घकालिन योजनाहरु तय गर्दैछौं। गत ५ वर्षमा  नगरभरिमा कल्बर्ट निर्माण गरिसक्छौं भनेका थियौं।  १५ वटा जति कल्बर्ट निर्माण गर्न बाँकी रहेको देखिएको छ।  त्यसलाई निरन्तरता दिने र सडकहरु स्तरोन्नति, मर्मत तथा सडक कालोपत्रे गर्ने योजनाहरु अगाडी बढाइने छ।  उन्नत खेति प्रविधि, मल विउको उचित व्यवस्थापन, कृषि र पशुपालन, स्वास्थ्य, शिक्षा, रोजगार, गरिवी निवारण, खेलकुद रंगशाला निर्माण, बजारहरु व्यवस्थापन लगायतका विषयमा नगरपालिकाको ध्यान केन्द्रित हुनेछ। 

 

पाडाजुंगी-गौरगंज सडक निकै साँगुरो छ।  ट्राफिकजाम उस्तै बढेको पाइन्छ।  दुर्घटनाको उच्च जोखिम रहने यस सडकलाई ४ लेनको सडक बनाउने प्रक्रिया कहाँ पुग्यो ? 

धेरै महत्वपूर्ण विषय उठाउनु भएको छ।   खुशीको कुरा नै भन्नु पर्छ, यो सडकलाई ४ लेन गर्नेगरि योजनामा परिसकेको छ।  पाडाजुंगी देखि ३ कि. मि. सडक ठेक्का लागिसकेको जानकारी गराउन चाहन्छु।  ठाउँ ठाउँमा निर्माण सामग्री झार्न थालेको पनि देखिन्छ।  

 

No description available.

 

गौरादह ४ मा पर्ने मिलनचोक-फत्तेपुर जाने कालोपत्रे सडकको अवस्था दयनिय देखिदै गएको छ, उक्त स्थानमा नयाँ सडक बन्छ बन्दैन ? 

त्यो सडक फत्तेपुर सम्म जोड्ने भनेर ४/५ वर्ष पहिले ठेक्का लागेर काम पनि शुरु भएको हो।  बजेट निकास नभएकै कारणले काम पूर्ण हुन पनि सकेको छैन। संघीय सरकारको बजेटबाट ठेक्का लागेको उक्त सडक निर्माण गर्न ठेकेदारले हात झिकेको निकै भईसकेको छ। एउटा काम पुरा नभई एकै ठाउँमा २ वटा बजेट पर्ने सम्भावना पनि रहदैन। सो सडक ४ लेन हुने भन्ने हल्ला मात्र हो।

 

डिपु- स्कुलचौन-डिम्माउठ्ठा सडक ठेक्का लगाएको पनि धेरै भई सक्यो, अहिले सम्म काम पुरा हुन सकेन नी ?

प्रदेश सरकारको योजना हो।  कहिले रोकिन्छ कहिले सुचारु हुन्छ। अलि लामै समय भएको छ।  निर्माण सम्पन्न हुन अझै केहि समय लाग्ला जस्तो छ।  कोभिडको कारणले पनि समस्या नै गरेको हो। ठेकादारहरुले समयमा भुक्तानी नपाउदा पनि काम अवरुद्द हुने गर्छ।  अहिले चाहिँ निरन्तर रुपमा काम अगाडी बढ्ने देखिएको छ।

 

सडक गौरवका अन्य आयोजना कुन कुन छन् ?

दमकको चियादोकान - सेतुमारी- बालुबथान सडकको ठेक्का लागिसकेको छ। संघीय सरकारबाट प्राप्त गौरादह १ हुँदै गौरादह ५ बालुबथान जोड्ने १६ सय मिटर सडक निर्माणको कार्य  ठेक्का सम्झौता भई सकेको छ। महाभारा- ग्वाल्डुबा- कोहबरा जोड्ने सडकको काम निरन्तर रुपमा अगाडी बढिरहेकै छ। गुराँसचोक - चप्रामारी सडक करिव २ करोडको योजना हो।  भुक्तानीका कारण केहि समय रोकिएको भएतापनि पुन: सुचारु हुँदैछ। डिपु-कोरोवारी सडक निर्माणमा ठेकेदारकै ढिलासुस्तीका कारण काम अवरुद्द भएको छ।  म यो  सडकको विषयमा सडक विभाग संग निरन्तर संवादमा पनि छु।    

 

नगर गौरवको आयोजना भनिएको रिङ्गरोड निर्माणको अवस्था के छ ?

यो दिर्घकालिन कार्यक्रम हो।  नगरको बजेटबाट रिङ्गरोड बन्ने भन्ने कुरा सम्भावना रहने कुरै भएन । राष्ट्रिय र प्रदेश योजनामा परेका  मुख्य सडक संजालले जोड्दै जाँदा रिङ्गरोडले स्वरुप ग्रहण गर्दै जान्छ। अहिले पनि  रिङ्गरोडको कामले निरन्तरता पाएकै छ।  वडा न. १ को चैते चोकबाट बालुबथान- कटकपुर - चप्रामारी- दमुना-ग्वाल्डुब्बा सम्म करिव करिव निर्माण सम्पन्न हुने अवस्था छ।  मुख्य समस्या मानिएको वडा न. ५ मा रिङ्ग रोडको काम लगभग सकिएको छ।  म आफैं वडाध्यक्ष भएको बेला  वडा न. ५ मा रिङ्गरोड लाई प्रथामिकता दिएको थिएँ।  करिव १३ कि. मि. सडक कालोपत्रे हुँदा यस वडामा रिङ्ग रोडको काम कम्प्लिट हुन्छ।  रिङ्गरोडलाई  अलि समस्या पर्ने भनेको वडा न. ८ र ९ हो। त्यहाँ पनि निर्माण कार्य  भईरहेको छ।   

 

वडा न. ५ र ६ का वासिन्दाका लागि रतुवा खोलाले धेरै दुख दिएको छ । तटबन्धन गर्ने योजना चाहिँ के छ ?

वडा न. ५ बालुबथान देखि २२ सय मिटर तटबन्धनको ठेक्का लागि सकेको छ।  रतुवा तटबन्धनको कार्य निरन्तर रुपमा अगाडी बढ्छ भन्ने अपेक्षा लिएका छौँ। यसमा मेरो पूर्ण जिम्मेवारी रहन्छ भनेर पटकपटक भनेको पनि छु।  

 

अस्पतालको कुरा के छ ?

गौरादह १ चैते चोकमा अस्पताल स्थापना गर्ने तयारी छ।  स्थानियले नगरपालिकालाई जमिन उपलब्ध गराइदिनु भएको छ।  जमिन सम्बन्धी केहि प्रक्रिया अड्किएको छ।  तत्कालै भौतिक संरचना निर्माणको प्रक्रिया अगाडी बढ्ने छ।   


नगरपालिकाले फोहोर व्यस्थापन गर्न नसकेको भन्दै विगत ५ वर्षमा निकै आलोचना खेप्नु पनि पर्यो।  विगत २/३ महिना देखि यसको व्यवस्थापनमा केहि सुधार आएको हो की भन्ने अवस्था देखिएको छ।  व्यवस्थापन र ल्याण्ड फिल्डको कार्य के भईरहेको छ? 

यथार्थ हो , फोहरो मैला व्यवस्थापन गर्न नसक्दा पटक पटक कठिनाईको सामाना गर्नु परेकै हो।    विगत ३ महिना देखि फोहोर व्यवस्थापनको कार्यलाई तिब्रता दिईएको छ। ल्यान्डफिल्डलाई व्यवस्थित गर्ने कार्य यसै आर्थिक वर्षमा पूर्ण हुनेछ। हामीले नीति कार्यक्रममै यसलाई प्राथमिकतामा राख्ने प्रतिवद्दता जनाएका छौं। नीति कार्यक्रममा उल्लेख भएकै आधारमा फोहोर व्यवस्थापनको कार्य हुनेछ।

 

गौरादहका पोखरीलाई पर्यटकीय स्थल बनाउने कुरा चलेको धेरै भएको छ।  वाल-कम्पाउण्डिङ्ग भई सकेपछि पुन: डि पी आर गरिएको भन्ने सुनिन्छ।  त्यति मात्र होइन यसै आर्थिक वर्षमा संघीय सरकारबाट छुट्टिएको ३ करोड ६० लाख बजेट फ्रीज भएको भन्ने कुरा पनि आयो यसमा मेयर सावको भनाई के छ ?

गौरादह नगरको गौरव संग जोडिएका ऐतिहासिक पोखरीको विकासमा लाग्ने प्रतिवद्दता जनाइदै आइएको पनि हो। वाल कम्पाउण्ड भए पश्चात पुन: कम्प्लिट  डि पी आर भएको सत्य हो।  संघीय सरकारको मापदण्ड अनुसार डि पी आर गरेर पठाए पश्चात झन्डै साढे ३ करोड रकम संघीय सरकारले विनियोजन पनि गरेको सत्य हो।  तर रकम विनियोजन गरेर मात्र नहुने रहेछ।  विनियोजित रकमलाई प्रक्रियामा लाने कार्य पनि संघीय सरकारकै हो।  रकम छुट्याउने अनि चुप लागेर बस्ने संघीय सरकारको व्यवहारिक त्रुटीका कारण बजेट फ्रिज भएको छ।  आगामी दिनमा प्रदेश र संघीय सरकार बाट पहल गरेर बजेट व्यवस्थापन गर्ने कुरामा हाम्रो सक्रियता रहने छ। 

 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

भर्खरै स्थानिय निर्वाचन सम्पन्न भएर हामी नयाँ जनप्रतिनिधिको रुपमा आएका छौं।  नगरवासीका समस्याहरु धेरै छन्।  नगरले सम्रिद्दीको यात्रा तय गर्न निकै काम गर्नु पर्ने छ।  मलाई लाग्छ प्रदेश र संघीय सरकारबाट सुचारु भएका योजनाहरु तोकिएको समयमा सम्पन्न भएको खण्डमा दुई वर्ष भित्रमा हेर्न लायकको गौरादह हुनेछ र ५ वर्ष भित्रमा हामी गौरादहवासीले हामी गौरादहवासी हौँ भनेर गर्व गर्न लायकको  गौरादह चाहिँ अवस्य बनिन्छ।  सवै नगरवासीलाई धन्यवाद।    
 

Views: