d

नगर सभापतिबाट सेडाईको वहिर्गमन, कस्तो हुन्छ अवको यात्रा? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेडाईलाई सभापति पदबाट हटाइएको छ। गत वर्ष नगर अधिवेशनबाट निर्वाचित भएका सभापति सेडाइलाई निर्वाचनमा आफ्ना उम्मेदवारका विरुद्द क्रियाकलाप लागेको भन्दै उजुरी परेको थियो।  

सेडाईको वर्खास्ती संगै नयाँ नगरसभापति कसलाई बनाउने भन्ने गृहकार्यमा गौरादह कांग्रेसमा तिब्र छलफल छ।  

उता सेडाई भने नगर सभापतिबाट आफुलाई हटाइनु स्वाभाविक भएको बताएका छन्। 

'वहाँहरुले गत फाल्गुन देखिनै  मलाई असहयोग गर्दै आउनु भएको हो।  काम गर्ने वातावरणनै नभए पछि पदमा बस्न उचित हुन्छ जस्तो पनि लागेको थिएन।  जे गर्नु भयो म वहाँहरुलाई धन्यवादनै दिन्छु।', पर्दाफास प्रतिनिधि संग टेलिफोनमा कुरागर्दै यादवले भने।

'आफुमाथि लागेका आरोपवारे जवाफ दिने मौका भने नपाएको उनले बताएका छन्। 

 'सार्वजनिक पदमा बसेको व्यक्तिलाई आरोप लाग्नु स्वाभाविक नै हो , यद्दपी जवाफ मागेकोभए हुने थियो , तर वहाँहरुले त्यसतर्फ सोच्नु पनि भएन।'
'गौरवका साथ भन्छु, मैले आफ्नो कार्यकालमा पार्टीकोलागि राम्रै काम गरेको छु, नगर समिति सुकुम्वासी अस्वस्थामा रहेको बेला सुबिधा सम्पन्न वि पी स्मृति भवन निर्माण गरिदिने मौका पाइयो, खुशीनै लागेको छ।', यादवले भने।

'पुरस्कृत गरिनु पर्ने मान्छेलाई कार्वाही गर्नु भएकोमा मैले दिन सक्ने भनेको धन्यवाद मात्र हो।' , नेता सेडाईले भनेका छन्।  

अवको राजनीतिक यात्रा कतातिर जान्छ त भन्ने प्रश्नमा नेता सेडाइले नेपाली कांग्रेस छोड्ने हो की भन्ने संकेत पनि गरेका छन्।

'अहिले नै यसो गर्छु भन्दिन, तर स्टेप चाल्छु ।' 

पछिल्लो समय राप्रपाका शिर्ष तहका  नेतासंग  समेत कुराकानी भईरहेको उनले खुलाए।
स्वतन्त्र ढंगले रहनेतर्फ समेत संकेतगर्दै आम शुभचिन्तक संग छलफल सहित अगाडी बढ्ने भन्दै उनले भने, 'अहिले मुलुकको राजनीति विषम परिस्थितिमा गुज्रदै छ।  राष्ट्रवादी कित्ता मुलुकको बलियो शक्तिको रुपमा देखा पर्दैछ। स्वतन्त्र नागरिक समाजको ध्रुविकरण समेत तिब्र छ।  म सवै राजनीतिक दल, स्वतन्त्र नागरिक, आम बुद्दिजीवी, शिक्षक, पत्रकार सबै तह र वर्ग संग बृहत छलफलको क्रममा छु।  एउटा राम्रो र भरपर्दो विकल्पमा जानै पर्छ।'  

निर्वाचनमा केहि आरोप लगाइएको भएता पनि सेडाईलाई तार्किक, बौद्दिक र मिजासिलो नेताको रुपमा लिइन्छ।  कांग्रेसबाट उनको पलायन भए गौरादह कांग्रेसलाई निकै ठुलो धक्का लाग्ने समेत राजनीतिक विश्लेषकहरु चर्चा गर्छन्।  

 

Views: