d

झापामा एम्बुलेन्स बिग्रिएर थन्किए, सेवाग्राही मारमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बनियानी । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् ।

लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन् । 

नेपाल–भारत मैत्री सङ्घमार्फत् प्राप्त विसं २०५४ र २०६४ मा एक-एक गरी मेची अस्पतालमार्फत् दुई एम्बुलेन्स सञ्चालित थिए ।

एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ । बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्थासमेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताए । “एम्बुलेन्स बनाउने कण्डिसन नै छैन”, उनले भने, “त्यसैले मर्मत गरिएको छैन ।”

अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ ।

सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहीँकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताउँछन् ।

प्रदेश नं १ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागिसमेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ ।

मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो । मुलुक सङ्घीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिएको छ ।

 प्रदेश र सङ्घीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ ।

भद्रपुरमा सरकारी-संस्थागत रुपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका एक-एक एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताए । 

“केही एम्बुलेन्स निजी रुपमा समेत सञ्चालित छन्”,उनले भने , “सरकारले भाडादर निर्धारण गरे पनि एक रुपता छैन ।”

प्रभावकारी रुपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उनको भनाइ छ । 

Views: