d

भारतीय राष्ट्रपति मुर्मूले सम्हालिन् कार्यभार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मुर्मू आदिवासी समुदाय तथा स्वतन्त्र भारतमा जन्मेको पहिलो राष्ट्रपति

भारतकी १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले सोमबारदेखि कार्यभार सम्हालेकी छिन् । भारतका प्रधानन्यायाधीश एनभी रमणबाट उनले संसद् भवनको केन्द्रीय हलमा शपथग्रहण गरेकी हुन् । राष्ट्रपति संसद्को एक हिस्साका रूपमा मानिने हुनाले शपथ संसद् भवनमा हुने चलन छ । मुर्मू भारतको आदिवासी समुदायकी पहिलो राष्ट्रपति हुन् । 


उनीअघि प्रतिभासिंह पाटिल भारतको राष्ट्रपति थिइन् । पाटिल १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भएपछि जन्मेकी पहिलो राष्ट्रपति हुन् । उनको जन्म २० जुन १९५८ मा भारतको उडिसामा भएको थयो । भारतमा सात सयभन्दा बढी सूचीकृत जनजाति छन् । राष्ट्रपति मुर्मू भारतभरि करिब ९० लाख जनसंख्या रहेको सन्थाल जातिकी हुन् । सन् १९७७ देखि राष्ट्रपतिले जुलाई २५ मा शपथ लिने प्रचलन सुरु भएको हो । यो मितिमा तत्कालीन राष्ट्रपति नीलम सञ्जीव रेड्डीले शपथ लिएका थिए । भारतीय दैनिक भास्कर पत्रिकाका अनुसार त्यसयता भारतीय राष्ट्रपतिले निर्वाचित भएपछि २५ जुलाईमा शपथ लिने र कार्यभार सम्हाल्ने क्रम जारी छ । हालसम्म मुर्मूसहित नौजना राष्ट्रपतिले २५ जुलाईमा शपथ लिएका छन् । 

राष्ट्रपतिका रूपमा मुर्मूलाई २१ जुनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले उम्मेदवार घोषणा गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मूलाई यो खबर भाजपाको उडिसास्थित मयुरभन्ज जिल्ला अध्यक्ष विकास महतोमार्फत सुनाएका थिए । त्यसवेला मुर्मू आफ्नो गाउँमा थिइन् । मुर्मूको मोबाइल नेटवर्कले गाउँमा काम नगरेका कारण मोदीका स्वकीय सचिवले महतोमार्फत मुर्मूसँग कुरा गर्न चाहेका थिए । ‘करिब एक मिनेट टेलिफोन कुराकानी (मोदी र मुर्मूबीच) भयो । मेडम मौन हुनुहुन्थ्यो । उहाँको आँखाबाट आँसु बगिरहेको थियो । उनकी छोरी इतिश्री र हामीले उहाँलाई सहयोग गथ्र्यौँ । आफूलाई सम्हाल्नेबित्तिकै उहाँले भनेका कुरा इतिहास बन्न पुग्यो । उहाँले भन्नुभएको थियो– यो धेरै ठूलो समाचार हो र मेरो आफ्नो मात्र होइन,’ महतोलाई उद्धृत गर्दै दैनिक भास्करले समाचार छापेको छ । महतोका बाबु रवीन्द्रनाथ महतो द्रौपति मुर्मूका राजनीतिक गुरु थिए । शिक्षिका बन्ने सपना बोकेकी मुर्मू राष्ट्रपति भएको उनको भनाइ थियो । मुर्मू २१ जुलाईमा राष्ट्रपति निर्वाचित भएकी थिइन् । 

मुर्मूका पति, दुई छोरा र एक छोरीको मृत्यु भइसकेको छ । उनको प्रेमविवाह भएको थियो । उनको गाउँबाट उच्च शिक्षा हासिल गरेकी उनी पहिलो महिला हुन् । 

Views: