d

जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनु सत्ता गठबन्धनको निर्लज्जता: ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे।


भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिरसमेत गरे।

उनले भने, ‘भ्रष्टचारको केश लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ। छानबिन गर्न दिएकै छैन। कल डिटेल्स हटाएको छ। अनि सिसीटिभी फुटेज मेटाइएको छ। रिभाईभ गर्दा देखिँदैन, बुझिँदैन। अनि सफाइ पायो। कहाँबाट पायो सफाइ?  अचम्मत के भने– लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको? नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला? यति निर्लज्ज तरिकाले हुन्छ?’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुनसक्ने दोहोर्‍याए।

उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वानसमेत गरे। दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकता नै गरेर अघि बढनुपर्ने प्रस्ताव गरे।

देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वाससमेत व्यक्त गरे। file photo

Views: